काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाबारे सार्वजनिक भएका समाचारप्रति आपत्ति जनाउँदै घटनाको वास्तविकता फरक रहेको बताएका छन्।
बस्नेतले भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया बेहोस भएर ढलेको भन्ने समाचार गलत भएको दाबी गरेका हुन्।
उनका अनुसार छलफलमा आफ्नो धारणा राख्ने क्रममा थपलिया भावुक भएका कारण केही समय गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्र देखिएको थियो।
बस्नेतले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले सामान्य स्वास्थ्य अवस्थालाई अतिरञ्जित गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, “छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो।”
बस्नेतले घटनालाई अनावश्यक रूपमा ठूलो नबनाउन आग्रह गर्दै भ्रामक समाचारप्रति विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।
एमाले अध्यक्ष ओलीको निवासमा बागमती प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। सोही क्रममा थपलियाको स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न विवरण सार्वजनिक भएका थिए।
यसअघि थपलियाका परिवारले भने उनको उच्च रक्तचाप र सुगरको मात्रा बढेका कारण थप उपचारका लागि वीर अस्पताल लगिएको बताएका छन्। उनी हाल चिकित्सकको निगरानीमा उपचाररत रहेको जनाइएको छ।







प्रतिक्रिया