काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ। विभिन्न विधेयक, उजुरी तथा नीतिगत विषयमा छलफल गर्न समितिहरूले छुट्टाछुट्टै समय तय गरेका छन्।
संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्नेछ। उक्त बैठकमा समितिमा प्राप्त विभिन्न उजुरीमाथि छलफल गरिनेछ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिले कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नुका साथै नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल गर्नेछ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।







प्रतिक्रिया