नबराज काफ्ले
भक्तपुर, १५ श्रावण : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य चौकी परिसरमा आज दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको भव्य उद्घाटन सम्पन्न भएको छ । चाँगुनारायण नगर कार्यपालिकाको कार्यालयको आयोजना एवम तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले दीप प्रज्ज्वलन र रिबन काटी केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता गर्दै नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले सम्पूर्ण नगरबासीका लागि मोतियाबिन्दुको उपचार निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आफू निर्वाचित भएपछि नगरबासीलाई निःशुल्क रगत तथा अक्सिजन सेवा सुरु गरिएको र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न नगरमुखी कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको अन्त्यमा उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले स्थानीय तहबाटै स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्नुभयो । प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न आफू सधैं तत्पर रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरण र विकासका लागि प्रदेश सरकारबाट उपलब्ध हुने सहयोगमा कुनै कन्जुस्याइँ नहुने बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर साथ रहने विश्वास मन्त्री श्रेष्ठले दिलाउनुभयो । कार्यक्रमको सञ्चालन गर्दै चाँगुनारायण नगर कार्यपालिकाको स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले कार्यक्रमलाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्दै आयोजनाको हरेक चरणलाई सहज र प्रभावकारी बनाउनुभयो । कार्यक्रमको सुरुदेखि समापनसम्म उहाँले अतिथिहरूको उचित सम्मान गर्दै मञ्च सञ्चालनमा आफ्नो कुशलता प्रदर्शन गर्नुभयो ।
स्वागत मन्तव्य राख्दै वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले वडा र वडावासीको स्वास्थ्य सुरक्षणमा कुनै सम्झौता नगरिने उद्घोष गर्नुभयो । आफू निर्वाचित भएपछि वडाभर नियमित स्वास्थ्य शिविर, घुम्ती स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । कार्यक्रमकै अवसरमा चाँगुनारायण नगरपालिकाका मोतियाबिन्दु भएका नागरिकहरूलाई निःशुल्क अपरेसनका लागि नगरपालिका र ख्वप तिलगंगा आँखा अस्पताल बीच सहमतिपत्रमा हस्ताक्षर भई कागजात हस्तान्तरण भएको छ । नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ बीच यो सम्झौता भएको हो । यसैगरी आजकै दिन दुई सयभन्दा बढी ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । यो निःशुल्क आँखा शिविर श्रावण १८ गते सोमबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सोही स्थलमा सञ्चालनमा रहनेछ । अतिथिका रूपमा उपस्थित शंखरापुर नगरपालिकाका नगर उपप्रमुख समिता श्रेष्ठले कार्यक्रमको सफलतामा शुभकामना व्यक्त गर्दै दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापना आसपासका सम्पूर्ण नगरपालिकावासीका लागि समेत लाभदायी हुने बताउनुभयो ।
अन्तरनगरपालिका सहकार्यले यस्ता स्वास्थ्य पूर्वाधार विस्तारमा थप गति दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापनालाई सामुदायिक स्तरमा आँखा स्वास्थ्य परिक्षण सेवा पुर्याउने दिशामा एउटा महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो । प्रतिष्ठान सधैं दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रसम्म गुणस्तरीय आँखा उपचार पुर्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताउँदै चाँगुनारायण नगरपालिका र तिलगंगाबीचको सहकार्य आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास उहाँले दिलाउनुभयो । नगरबासीले समयमै आँखा जाँच गराई मोतियाबिन्दु, दृष्टिदोष र अन्य समस्याको तत्काल उपचार गराउन आग्रह गर्दै यस केन्द्रले धेरैको दृष्टि जोगाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत मोहनकृष्ण श्रेष्ठले अबका दिनमा दुवाकोट स्वास्थ्य चौकीको भवनबाटै तिलगंगा आँखा प्रतिष्ठान क्युअर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोगमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रले आफ्नो सेवा निरन्तर सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक योग समितिका विज्ञ सदस्य डा. नबराज काफ्लेले चाँगुनगरबासीले अब सामुदायिक स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्ने भएकोमा खुसी व्यक्त गर्नुभयो । आँखाको स्वास्थ्य सुरक्षणका क्रममा स्वास्थ्य सेवा प्रवाहका बेला योगका विभिन्न वैकल्पिक विधिहरू पनि सँगसँगै प्रयोगमा ल्याउन सके थप श्रेयस्कर हुने विश्वास व्यक्त गर्दै यसको आवश्यक व्यवस्थापनका लागि उहाँले आयोजक समक्ष विशेष आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पितांबर अधिकारी, भक्तपुर जनस्वास्थ्य कार्यालयका अधिकृत दीपक अछामी, हिमालयन क्याटरेक्ट प्रोजेक्टकी कन्ट्री डाइरेक्टर पुनम भण्डारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नगरपालिकाका वडा अध्यक्षहरु श्यामसुन्दर धिमाल, जनक खत्री , नेपाल रेड्क्रस सोसाईटी भक्तपुरका सभापति रामेश्वर थापा,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू उमेश प्रधान,प्रेम खत्री,राधादेवी माकजु र सिता मिजार, चाँगुनारायण अस्पतालका डा. अर्जुन कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू शिवहरि केसी, रोसन थापा, रामप्रसाद तिमिल्सिना, नरेश खड्का, रमेश अधिकारी र राजाराम दाहाल, चाँगुनारायण अस्पताल, स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्रमुखहरू, स्वास्थ्यकर्मीहरू, जेष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरू, पत्रकार लगायत स्थानीय बुद्धिजीवी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । आँखा मानिसको जीवनको सबैभन्दा बहुमूल्य इन्द्रिय हो, जसको महत्व त्यही व्यक्तिले मात्र गहिरोसँग महसुस गर्न सक्छ जसले दृष्टि गुमाएको हुन्छ ।

उज्यालो र अँध्यारोसमेत छुट्याउन नसक्ने पूर्ण दृष्टिविहीनदेखि लिएर न्यून दृष्टियुक्त व्यक्तिसम्म, प्रत्येकको दैनिक जीवन आँखाको समस्याले कति कठिन बनाउँछ भन्ने कुरा नियाल्दा यस्ता स्वास्थ्य केन्द्रको महत्व स्वतः प्रस्ट हुन्छ । रेपिड असेस्मेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (आरएएबी) २०२२ को तथ्यांकअनुसार नेपालमा १५ लाख ६५ हजार ९ सय ७ जना मानिस कुनै न कुनै आँखाको समस्याबाट प्रभावित छन्, जसमध्ये ४० हजार २ सय ३० जना पूर्ण रूपमा अन्धोपनको सिकार भएका छन् भने ६३ हजार ९ सय ८५ जनामा दृष्टिको गम्भीर समस्या रहेको छ । समयमै उपचार नपाउँदा ८० प्रतिशत दृष्टिसम्बन्धी समस्या अझ जटिल बन्दै गएको पाइएको छ र चस्मा समयमै नलगाउँदा तथा सामान्य शल्यक्रियाको पहुँचमा कमी हुँदा यस्तो अवस्था सिर्जना भएको हो ।
यसैगरी तिलगंगा प्रतिष्ठानका अनुसार दृष्टिविहीनता निम्त्याउने रोगहरूमध्ये मोतियाबिन्दु नै पहिलो कारण रहेको छ, र नेपालको अपांगतामा दृष्टिगत अपांगता नै मुख्य रहेको पाइएको छ । यस्तै पृष्ठभूमिमा चाँगुनारायण नगरपालिका जस्तो ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सामुदायिक स्तरमै आँखा स्वास्थ्य केन्द्र स्थापना हुनु ठूलो उपलब्धि मानिन्छ । दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापनासँगै अब नगरवासीले सहरसम्म धाउनु नपरी आफ्नै वडामा गुणस्तरीय आँखा परीक्षण, चस्माको सुविधा र मोतियाबिन्दुजस्ता समस्याको निःशुल्क शल्यक्रिया सेवासम्म पहुँच पाउने भएका छन् । विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न परिवार र समयमै उपचार नपाई दृष्टि गुमाउने जोखिममा रहेका सर्वसाधारणका लागि यो केन्द्र वरदान सावित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया