काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दो तनाव, हिंसा र सामाजिक अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय हित, सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक–सामाजिक समुदायका अगुवाहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिलमा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकादेखि सिरहासम्म भएका हिंसात्मक घटनामा नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले सुनसरीका ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु तथा अन्य घाइतेप्रति श्रद्धाञ्जली, समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीले हिंसात्मक घटनाहरू रोकिनुको सट्टा थप उग्र बन्दै गएको उल्लेख गर्दै यसले देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
उनले नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलाग्न, संयम अपनाउन र सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गरेका छन्। जनतालाई विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने प्रयासप्रति सचेत रहन पनि उनले अपिल गरेका छन्।
सरकारप्रति आलोचनात्मक टिप्पणी गर्दै ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य भएको बताएका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
ओलीले वर्तमान विषम परिस्थितिमा प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले अन्त्यमा द्वन्द्व र हिंसाबाट कुनै पनि समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएका छन्। राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई राष्ट्रिय हितका लागि एकजुट हुन उनले पुनः आह्वान गरेका छन्।







प्रतिक्रिया