काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक दबाब सिर्जना गर्दै संसदमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिन माग गरेको छ। कांग्रेस सांसद गीता गुरुङले प्रधानमन्त्री निरन्तर संसदबाट अनुपस्थित रहेको भन्दै सभामुखमार्फत रुलिङ गर्न आग्रह गरिन्।
उनले सरकार जनताका गम्भीर प्रश्नको उत्तर दिनुको सट्टा विषयान्तर र प्रचारमुखी गतिविधिमा व्यस्त रहेको आरोप लगाइन्। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुमवासी बस्तीमा डोजर चलाइएको, आत्मदाहका घटनापछि पनि सरकारले मूल विषयबाट ध्यान मोड्न खोजेको उनको भनाइ थियो।
गीता गुरुङले सुकुमवासी बस्ती हटाइएपछि ज्यान गुमाएका नौ जनाको घटनालाई राज्यको गलत नीतिको परिणाम भएको दाबी गर्दै यसलाई “संस्थागत विफलता” को संज्ञा दिइन्। उनले सरकारले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको दाबी गरे पनि फेरि डुबानको जोखिम रहेको क्षेत्रमा राखिएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाइन्।
संसदमै उनले गम्भीर कानुनी प्रश्नसमेत उठाइन्। डोजर अभियानपछि भएका आत्महत्याका घटनालाई केवल व्यक्तिगत निर्णयका रूपमा लिन नमिल्ने उल्लेख गर्दै उनले सरकारको भूमिकामाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिन्। “आत्महत्या दुरुत्साहनको विषयमा सरकारमाथि कानुनी अनुसन्धान हुन्छ कि हुँदैन?” भन्ने प्रश्न उनले सदनमा राखिन्।
प्रधानमन्त्रीलाई लक्षित गर्दै गुरुङले युवाले नयाँ नेतृत्वबाट गरेको अपेक्षा क्रमशः निराशामा बदलिँदै गएको टिप्पणी गरिन्। उनले प्रधानमन्त्रीलाई संसदमा आएर जनप्रतिनिधिका प्रश्नको जवाफ दिन र जनताप्रति उत्तरदायी बन्न आग्रह गरिन्।
कांग्रेसले प्रधानमन्त्रीको संसदप्रतिको उत्तरदायित्व सुनिश्चित गर्न सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने मागसमेत दोहोर्याएको छ।







प्रतिक्रिया