काठमाडौं । किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अन्तिम–१६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले लामो समयसम्म गोलरहित बराबरी खेलेका थिए। तर ७०औँ मिनेटमा डिजिरे डुएलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरिएपछि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा गर्दै रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई एम्बाप्पेले सहजै गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
इन्जुरी समयतिर एम्बाप्पेले थप दुई उत्कृष्ट अवसर सिर्जना गरे पनि पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले शानदार बचाउ गर्दै गोलअन्तर बढ्न दिएनन्।
यो जितसँगै फ्रान्स विश्वकपको अन्तिम आठमा पुगेको छ, जहाँ उसले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले यसअघि क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।
पराजित पाराग्वेको विश्वकप यात्रा भने अन्तिम–१६ मै टुंगिएको छ। यता एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन् भने जारी संस्करणमा सात गोलसहित गोल्डेन बुटको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका छन्।







प्रतिक्रिया