काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढाउन सरकारले औपचारिक पहल थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो।
मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै दक्षिण कोरियाबाट प्राप्त श्रमिक मागपत्र नेपाली कूटनीतिक नियोगमार्फत प्रमाणीकरण गरी वैदेशिक रोजगार ऐन, २०६४ अनुसार प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार यो निर्णय दक्षिण कोरियाली पक्षबाट प्राप्त कूटनीतिक नोट, परराष्ट्र मन्त्रालयको सिफारिस तथा उच्च अदालत पाटनबाट जारी आदेशलाई आधार मानेर गरिएको हो। असार १५ गते मन्त्रीस्तरीय निर्णयपछि प्रक्रिया कार्यान्वयनतर्फ अघि बढाइएको जनाइएको छ।
यससँगै वैदेशिक रोजगार विभागलाई आवश्यक प्रशासनिक र कानुनी व्यवस्थापन मिलाउन निर्देशन दिइएको छ भने सियोलस्थित नेपाली राजदूतावासलाई पनि समन्वयका लागि जानकारी गराइएको मन्त्रालयले जनाएको छ।
ई–७ भिसा दक्षिण कोरियामा दक्ष तथा प्राविधिक जनशक्तिका लागि प्रदान गरिने विशेष श्रम भिसा हो। लामो समयदेखि कानुनी जटिलताका कारण रोकिएको यो प्रक्रिया पुनः सञ्चालनको तयारीसँगै दक्ष नेपाली श्रमिकले निजी म्यानपावर कम्पनीमार्फत समेत रोजगारीको अवसर पाउने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयले दक्षिण कोरियाको श्रम बजारमा दक्ष नेपाली जनशक्तिको पहुँच विस्तार हुनुका साथै वैदेशिक रोजगारीलाई थप व्यवस्थित र कानुनसम्मत बनाउने विश्वास गरिएको छ।







प्रतिक्रिया