काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा कर्णाली राजमार्ग अवरुद्ध भएपछि यसको असर जनजीवनमा गहिरो रूपमा परेको छ। सडक अवरुद्ध हुँदा बिरामी, विद्यार्थी र अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण सबै प्रभावित भएका छन्।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले सरकारलाई तत्काल समस्या समाधान गर्न दबाब दिएका छन्। सांसद जयपति रोकायाले विवाद समाधानका लागि संवाद र वार्ताको प्रक्रिया अघि बढाउन आग्रह गर्दै राजमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याइन्।
उनका अनुसार, “राजमार्ग बन्द हुँदा सामान्य नागरिकको दैनिकी ठप्प भएको छ, सरकारले संवेदनशील भएर समाधान खोज्नुपर्छ।”
त्यस्तै, सांसद केपी खनालले रानीसिंह क्षेत्रको सीमा विवादकै क्रममा जनप्रतिनिधि तथा टोलीमाथि भएको दुव्र्यवहारको विषय उठाउँदै सुरक्षा संयन्त्रको कमजोरीप्रति प्रश्न उठाए। उनले हिमाली क्षेत्र साइपाल जडीबुटी र वन्यजन्तु स्रोतमा धनी भएकाले अवैध कारोबार रोक्न स्थायी सुरक्षा उपस्थिति आवश्यक रहेको बताए।
सांसद जनकराज गिरीले भने हिमाली गाउँपालिका–३ मा प्रहरी र स्थानीय प्रशासनमाथि भएको आक्रमणलाई गम्भीर घटनाका रूपमा उल्लेख गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।
सीमा विवादका कारण उत्पन्न तनावले सडकदेखि सदनसम्म बहस चर्किएको छ भने स्थानीय प्रशासनले शान्तिपूर्ण समाधानका लागि पहल तीव्र बनाउनुपर्ने दबाब बढेको छ।







प्रतिक्रिया