काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान र शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलमा स्तनपान र शिशु हेरचाहका लागि सुरक्षित, गोपनीय र सरसफाइ मापदण्ड अनुरूप कक्ष सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।
निर्देशनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विमानस्थलको सरसफाइ सुनिश्चित गर्न र दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्नुपर्ने भनिएको छ। साथै, महिला यात्रुहरूको लागि शौचालयमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराउने व्यवस्था पनि गरिनुपर्ने छ।
मन्त्रालयले विमानस्थलमा बिरामी तथा विशेष आवश्यकता भएका यात्रुहरूको लागि प्राथमिक हेरचाहकक्ष पनि सञ्चालन गर्न निर्देशन दिएको छ। यी निर्देशनहरूको कार्यान्वयन भए नभएको बारे जानकारी मन्त्रालयका सूचना अधिकारीलाई दिनको लागि पनि मन्त्रालयले आग्रह गरेको छ।








प्रतिक्रिया