जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सदनमा प्रतिनिधित्व गर्ने १० वटै दलका उपस्थित ९२ सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्।
सत्तापक्षमा रहेका सबै दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य साना दलहरूले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन्। प्रदेशसभा बैठक उपसभामुख बबिता राउत इशरको अध्यक्षतामा बसेको थियो। विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा उपसभामुख इशरले गर्नुभएको हो। नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनका घटक दलहरू-जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए। यसैगरी, सत्ता बाहिर रहेका प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन्।
गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। शपथकै दिन नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गर्नुभएको थियो। पछि मंसिर २९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराइएको थियो। हाल मुख्यमन्त्री यादवसहित मन्त्रिपरिषद् ६ सदस्यीय रहेको छ भने ६ वटा मन्त्रालय अझै रिक्त छन्। विश्वासको मत प्राप्त गरेसँगै संसदीय गठबन्धनबीच भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गरिने जनाइएको छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारको विश्वासको मतका लागि ५४ मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। हाल प्रदेशसभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसद रहेका छन्।
यसअघि दोस्रो कार्यकालमा तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले २०८० जेठ २९ गते सिंगो सदनबाट विश्वासको मत पाएका थिए। तर सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री बनेका एमालेका सरोजकुमार यादवले मंसिर १७ गते बोलाइएको सदनमा विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका थिए। त्यसभन्दा अघि गत असोज २९ गते छदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपाका नेता जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिएका थिए। त्यस्तै, असोज २८ गते जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले पनि विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिएका थिए।






प्रतिक्रिया