२०८३, १४ श्रावण शुक्रबार

उपचारको सट्टा बाइबल पाठ : अन्धविश्वासका कारण सस्यूखर्कका सुर्यमानको जीवन संकटमा

उपचारको सट्टा बाइबल पाठ : अन्धविश्वासका कारण सस्यूखर्कका सुर्यमानको जीवन संकटमा


काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–१ पोखरिपानीका २३ वर्षीय सुर्यमान बम्जन अहिले मृत्युसंग संघर्ष गर्दै छन्। प्राणघातक स्नायु रोगका लक्षण देखिएपछि तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा, उनका बाबुआमाले “येशुको नाममा निको होस्” भन्दै तीन दिनसम्म मण्डलीमा बाइबल पाठमा अडिएपछि उपचारमा ढिलाइ भएको हो।

स्थानीयका अनुसार जेहेन्दार र मेहनती सुर्यमान केही दिनअघि अचानक बिरामी परे। उनको शरीर काँप्न थाल्यो, नशा तन्कियो र चेत हराउँदै गयो। तर अवस्थाको गम्भीरता बुझेर अस्पताल लैजानुपर्ने सट्टा, परिवारले “दैवी परीक्षा” भन्दै प्रार्थनामा समय बितायो। तीन दिनसम्म घरमै बाइबल पाठ चलिरह्यो। “येशुको नाममा निको होस्” भन्दै उनीहरू दिनरात चर्को स्वरमा प्रार्थना गर्थे। छिमेकीहरूले बारम्बार अस्पताल लैजान आग्रह गरे पनि परिवारले “विश्वासले उपचार गर्छ” भन्दै इन्कार गरे।

अन्ततः छिमेकी र स्थानीय युवाहरूले जबरजस्ती गाडी खोजी सुर्यमानलाई स्ट्रेचरमा बोकेर नमोबुद्ध नगरपालिका–स्थित मेथिन्कोट अस्पताल पुर्‍याए। त्यहाँ तत्काल उपचार सम्भव नभएपछि उनलाई धुलिखेल अस्पताल रेफर गरिएको हो । अस्पताल स्रोतका अनुसार सुर्यमान अहिले पनि अचेत अवस्थामा छन् र न्युरोलोजिकल इन्टेन्सिभ केयर युनिट (NICU) मा राखी उपचार भइरहेको छ। चिकित्सकहरूले अवस्था निकै जटिल भएको जनाएका छन्।

स्थानीय युवाहरूले यो घटनालाई अन्धविश्वास र लापरबाहीको चरम उदाहरण बताएका छन्। एक युवा नेताले भने, “समयमै अस्पताल लगिएको भए उनी अहिले यस्तो अवस्थामा हुने थिएनन्। धर्ममा अन्ध विश्वासले जीवनसँग खेलबाड भयो।” सामाजिक सञ्जालमा पनि यो घटनापछि कडा प्रतिक्रिया देखिएको छ। धेरैले प्रश्न गरेका छन् – “२१औं शताब्दीमा पनि विश्वासका नाममा विज्ञान र उपचारलाई बेवास्ता गर्दा कति युवाले जीवन गुमाउनुपर्ने हो?”

हाल सुर्यमानको उपचारका लागि गाउँले र स्थानीय युवाहरूले सहयोग अभियान सुरु गरेका छन्। स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन् -“धार्मिक आस्थाभन्दा माथि जीवन र उपचारलाई प्राथमिकता दिनुपर्छ।”

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १२ : ३२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा