२०८२, ११ पुस शुक्रबार

उखुको पैसा उठाउन आएका किसान राजधानीको सडकमै बिरामी पर्न थाले

उखुको पैसा उठाउन आएका किसान राजधानीको सडकमै बिरामी पर्न थाले

हरेकपटक रकम नभई आश्वासन मात्रै पाएका छौँ,


काठमाडौं, ३ पुस :  कपिलवस्तुको शिवराज नगरपालिका– ७ का उखु किसान बेचु अहिर साथीहरूसँग राजधानी आएको तीन दिन भयो । पुसको चिसो, पातला कपडा र सडकको धर्ना । ७३ वर्षीय अहिरलाई दोस्रो दिन नै चिसोले समात्यो र वृद्ध ज्यानलाई अस्वस्थ बनायो । उनलाई हनहनी ज्वरो आएको छ ।

अस्पताल भर्ना हुनुपर्ने बेचु बिहीबार पनि सडकमै भेटिए । ज्वरोले थरथर कामिरहेका उनी उठ्न सकेनन् । त्यसैले माइतीघर मण्डलाको मूल सडकमै सुतिरहेको अवस्थामा भेटिए । साथीहरूले उनलाई सिरक ओढाई दिएका थिए ।

ज्वरोले थला परे पनि उनी आन्दोलन छाड्ने अवस्थामा छैनन् । ‘शरीर गलेको छ, तर आन्दोलन छाड्न सक्दिनँ, अहिले शरीरलाई आराम दिन खोजेँ भने मैले पैसा पाउँदिनँ, पैसा पाइनँ भने मलाई साहु–महाजनले सुख दिनेवाला छैनन्,’ उनले भने ।

दिउँसो माइतीघर मण्डलामा भेटिएका बेचुलाई खोज्दै बिहीबार हामी गौशालास्थित धर्मशालामा पुग्यौँ । तर, उनी दिउँसोभन्दा पनि कमजोर भएका रहेछन् । ‘दिनभरि पनि चिसो सडकमै सुते, साँझदेखि त ओछ्यानबाट उठ्न पनि सकेका छैनन्,’ साथी किसानहरूले भने, ‘बुखार चर्किएको छ, खाना खान समेत उठ्न सकेनन् ।’ बेचु भने बोल्न पनि सकेनन् ।

कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले अहिर अस्वस्थ हुँदाहुँदै पनि हजारौँ किसानका लागि आन्दोलनमा रहेको बताए । ‘अहिर काकाले पाउनुपर्ने बक्यौता रकम २०–२५ हजार रुपैयाँ मात्रै हो, तर उहाँले आठ हजार किसानले पाउनुपर्ने सात करोड बक्यौताको लागि धर्ना दिइरहनुभएको छ,’ चौधरीले भने, ‘उहाँको स्वास्थ्यमा समस्या आउन थालेपछि हामीले धर्नामा नबस्नुस्, आराम गर्नुस् भनिरहेका छौँ, तर मान्नु भएको छैन ।’

अहिरसँगै कपिलवस्तुका करिब आठ हजार किसानले महालक्ष्मी सुगर्स प्रालिबाट ६ वर्षअघि उखु बेचेको रकम पाएका छैनन् । करिब सात करोड बक्यौता लिन बाँकी रहेको किसानको भनाइ छ । सरकारले किसानलाई दिएको अनुदानबापतको साढे दुई करोड रकम पनि मिलले खाइदिएको छ ।

महालक्ष्मी सुगर्स कपिलवस्तुबाट सर्लाहीमा सरेको पनि करिब चार वर्ष बितिसक्यो । बक्यौता भुक्तानी पाउने आशामा यसबीचमा ३४ पटक काठमाडौं आएको अध्यक्ष चौधरीले सुनाए । ‘तर, हरेकपटक रकम नभई आश्वासन मात्रै पाएका छौँ, तर यसपटक भने उखुको बक्यौता रकम हात नपरेसम्म धर्ना छोड्दैनौँ,’ उनले बताए ।

जिल्लाका १२ किसान अहिले निर्णायक आन्दोलनमा सहभागी हुन काठमाडौं आएको चौधरीले बताए । तर, चिसोका कारण साथीहरू बिरामी हुन थालेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : ३० बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने