२०८३, २ भाद्र बुधबार

बोक्सी आरोपमा निर्घात कुटपिट: ५० हजार जरिवाना र ५० हजारको भोज खुवाउन जातीय पञ्च भलादमीको निर्णय

बोक्सी आरोपमा निर्घात कुटपिट: ५० हजार जरिवाना र ५० हजारको भोज खुवाउन जातीय पञ्च भलादमीको निर्णय


जनकपुरधाम, १९ कार्तिक : बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन् । जिल्लाको धनौजी गाउँपालिका–२ कि ३० वर्षीया मन्तोरियादेवी मण्डललाई जेठाजु इन्दल मण्डल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले नै एक वर्षदेखि बोक्सी भन्दै गाली बेइज्जती र कुटपिट गर्दै आएका थिए । यसै क्रममा कात्तिक १६ गते जेठाजुले जातीय पञ्चायती बोलाएर त्यहाँ सबैका सामु बोक्सी स्विकार्न दबाब दिएका थिए ।

‘आफ्नो जातिको माइजन (जातीय मुखिया) फुगनी मण्डल र पञ्चहरू दुखनी मण्डल, रौदी मण्डल, उमेश मण्डल, विन्दे मण्डलको उपस्थितिमा आफूलाई बोक्सी हूँ भन् भनेर स्वीकार गर्न दबाब दिए’, मन्तोरियाले सुनाइन्, ‘तर मैले आरोप स्वीकार नगरेपछि जेठाजु र जेठानीहरूले पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट गर्न थाले ।’ पति इन्द्रजीत मण्डल वैदेशिक रोजगारीमा एक वर्षअघि दुबई गएदेखि ४ छोरी र परिवारले बोक्सी भन्दै आफूलाई प्रताडित गर्दै आएको मन्तोरियाले सुनाइन् । परिवारमा बालबालिकादेखि बुढासम्म कोही पनि बिरामी पर्दा उनले नै टुनामुना लगाएको भन्दै गाली गर्ने गरेका थिए ।

‘बोक्सी मारे खुन माफ हुन्छ भन्दै ज्यानै मार्नु पर्छ भनेर समेत भने’, उनले भनिन् । जरिवानाको रकम जातीय दलान निर्माणमा खर्च हुने र भोजको रकमबाट जातिका गाउँलेले भोजभतेर खाने पञ्चायतले निर्णय गरेको छ । पञ्चायतले निर्णय नमाने जातिबाटै बहिस्कार गर्ने चेतावनी उनलाई दिएको छ । साथै पञ्चायतले छोरीहरूको बिहेसमेत हुन नदिने भन्दै धम्क्याएको मन्तोरियाले सुनाइन् । उनले निर्णय नमानेपछि अत्यधिक कुटपिट गरेर बेहोस पारिएको थियो । छोरीले जसोतसो उनलाई उठाएर घर ल्याएकी थिइन् । ‘होस्मा आएपछि पतिलाई फोनबाट घटनाको जानकारी गराएँ’, मन्तोरियाले भनिन्, ‘पतिले त्यस्तो अन्यायबारे प्रहरीमा उजुरी देऊ भनेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेको छु ।’

प्रहरीमा उजुरी दर्ता गरेको थाहा पाएपछि गाउँलेले धम्क्याउन, तर्साउन थालेको उनले बताइन् । ‘आफ्नै जातिका युवाहरूले समेत छोरीहरूको बिहे हुन दिँदैनौं, काटेर फाल्दिन्छौं भन्दै उजुरी फिर्ता लिन दबाब दिइरहेका छन्’, उनले गुनासो गरिन् ।मन्तोरियाले आइतबार जनकपुरमा आयोजित महिला हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवसँग आफूलाई न्याय दिलाउन गुहार मागिन् । एक पत्रकारको सहयोगमा आएकी उनले मन्त्रीसँग आग्रह गरिन्, ‘मलाई न्याय दिलाइ दिनुस् । बालबच्चालाई घरमा बस्ने वातावरण बनाइ दिनुस् ।’ मन्त्री यादवले घटना थाहा पाएर निकै दुःख लागेको र कडाइपूर्वक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने बताए । उनले भने, ‘पीडितको पुनर्वास र उनलाई न्याय दिलाउन प्रदेश सरकारले सक्दो पहल गर्नेछ।’

जुलेखाले दिइन् उजुरी
यता बोक्सी आरोपमा एक वर्षदेखि यातना भोग्दै आएकी ३७ वर्षीया जुलेखा खातुनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । सबैलाई नगरपालिका–१२ रघुनाथपुरकी उनलाई स्थानीय खैतुन खातुन, अजिमा खातुन, जुमरत राइन, हबिब राइन, समिम राइन, एैलुन राइनले पटक पटक कुटपिट गर्दै आएको भन्दै न्याय माग्दै प्रहरीमा आएको उनले सुनाइन् । छरछिमेकमा वा घरपरिवारमा कसैलाई बिसन्चो हुनासाथ आफूलाई बोक्सी भन्दै कुटपिट गर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘पति विदेशमा छन्, ५ जना छोराछोरी लिएर बस्छु । बिनाकारण बोक्सी भनेर यातना खेप्नु परिरहेको छ ।’
–अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : २२ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक