काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। कांग्रेस सभापति गगन थापासहितका नेताविरुद्ध बयान दिन दबाब र धम्की दिइएको भन्ने आरोपको सत्यतथ्य सार्वजनिक गर्न उनले माग गरेका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले सापकोटाकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
उनले गगन थापासहित विभिन्न व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, नत्र फसाइदिने धम्की दिइएको भन्ने उजुरीमा उल्लेखित विषयको वास्तविकता प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन्।
शर्माले उक्त उजुरी झुटो हो वा राज्यकै आडमा आपराधिक गतिविधिको योजना बनिरहेको हो भन्ने प्रश्नसमेत उठाएका छन्। उनका अनुसार इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र सीमित राख्नु उचित हुँदैन।
उनले घटनासँग सम्बन्धित सम्पूर्ण तथ्य सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका छन्। लोकतन्त्रमा पारदर्शिता अनिवार्य रहेको भन्दै नागरिकले घटनाको वास्तविकता थाहा पाउनुपर्ने उनको भनाइ छ।
यस प्रकरणमा संसद्ले नै अग्रसरता लिएर निष्पक्ष र पारदर्शी अनुसन्धान गराउनुपर्ने माग पनि शर्माले गरेका छन्।
हिरासतमा यातना र बयानका लागि दबाब दिएको आरोप
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र विभिन्न राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।
उनकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको पाँच पृष्ठ लामो उजुरीमा सापकोटामाथि शारीरिक तथा मानसिक यातना दिइएको दाबी गरेकी छन्।
उजुरीमा आफूले नबोलेका कुरा पढ्न लगाएर अडिओ रेकर्ड गरिएको र त्यसलाई सम्पादन गरी सार्वजनिक गरिएको उल्लेख छ। बयान नदिए लामो समय हिरासतमा राख्ने तथा परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको आरोपसमेत लगाइएको छ।
१८ करोड लेनदेनको अडिओले बढाएको विवाद
यसअघि कांग्रेसको आधिकारिकता विवादसँग जोडेर गगन थापासहितका नेताबारे इनमले बोलेको भनिएको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको दाबी गरिएको थियो।
तर उक्त अडिओको सत्यता र सापकोटाले लगाएका दबाब तथा यातनासम्बन्धी आरोप स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेपछि आयोगले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ। आयोगका अधिकारीहरूले सम्बन्धित सरकारी निकायसँग जानकारी लिएर हिरासतमा रहेका सापकोटाको मानवअधिकार अवस्थाबारे छानबिन गरिने बताएका छन्।
इनम सापकोटा प्रकरणले राजनीतिक वृत्तमा थप प्रश्न उठाइरहेका बेला शर्माको अभिव्यक्तिले घटनाको निष्पक्ष अनुसन्धान र वास्तविकता सार्वजनिक गर्नुपर्ने मागलाई थप चर्चामा ल्याएको छ।







प्रतिक्रिया