नवलपुर । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले आठ देशका प्राज्ञ तथा अनुसन्धानकर्ताको सहभागितामा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ। चितवनको सौराहामा मंसिर ११ र १२ गते दुईदिने सम्मेलन हुन लागेको हो।
क्याम्पस प्रमुख गणेशमान गिरिका अनुसार सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले गर्ने कार्यक्रम छ।
‘मानिस, व्यवसाय र समाजको दिगो तथा बौद्धिक भविष्यका लागि नवप्रवर्तनमार्फत उच्च शिक्षाको रूपान्तरण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा करिब १०० वटा अनुसन्धान लेख प्रस्तुत गरिनेछ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राध्यापक मुक्तिराम पाण्डेका अनुसार नेपालसहित अमेरिका, न्युजिल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया र भारतका गरी आठ देशका करिब ५० क्याम्पस तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन सत्रमा मात्रै करिब २०० जनाको उपस्थिति रहने आयोजकको अपेक्षा छ।
वि.सं. २०६३ मा स्थापना भएको मध्यविन्दु बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरिसकेको छ। क्याम्पसका लागि यति ठूलो स्तरको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन पहिलोपटक आयोजना हुन लागेको अध्यक्ष पाण्डेले बताए।
सम्मेलनको पहिलो दिन औपचारिक उद्घाटन, सांस्कृतिक कार्यक्रम तथा प्रमुख वक्ताहरूको प्रस्तुति रहनेछ। दोस्रो दिन अनुसन्धान लेख प्रस्तुतीकरण, कार्यशाला, अन्तरक्रिया र समापन समारोह आयोजना गरिने क्याम्पस प्रमुख गिरिले जानकारी दिए।
सम्मेलनमा नेपाल तथा विदेशका नौ जना प्राज्ञले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। नेपाली वक्ताहरूमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, पूर्वडिन प्राडा डिल्लीराज शर्मा, शिक्षाशास्त्र संकायका डिन प्राडा बेदराज आचार्य र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा ध्रुवकुमार गौतम रहेका छन्।
त्यस्तै, विदेशी वक्ताहरूमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्राडा रामवन्त गुप्ता, लखनउ पब्लिक कलेज अफ प्रोफेसनल स्टडिजका डिन प्राडा लक्ष्मी शंकर अवस्थी, दक्षिण कोरियाको जेजु नेसनल युनिभर्सिटीका प्राडा बुयुनचोर तथा मलेसियाको युनिभर्सिटी मलायाकी वरिष्ठ उपप्राध्यापक डा. ओङ लिन दार सहभागी हुनेछन्।
विशेष सत्रमा विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायण भण्डारी प्लेनरी स्पिकरका रूपमा रहनेछन्। त्रिभुवन विश्वविद्यालयका प्राडा ताराप्रसाद भुसालको अध्यक्षतामा हुने प्यानल छलफलमा अमेरिकाको येल विश्वविद्यालयका डा. माइकल अपोलो, न्युजिल्यान्डको युनिभर्सिटी अफ क्यान्टरबरीका डा. कर्ण राना, त्रिभुवन विश्वविद्यालयका प्राडा नवराज न्यौपाने र सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपाने सहभागी हुनेछन्। छलफलको सहजीकरण मस्र्याङ्दी बहुमुखी क्याम्पसका पीएचडी स्कलर विनोद न्यौपानेले गर्नेछन्।
बदलिँदो विश्व परिवेश, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिअनुकूल उच्च शिक्षाको विकास गर्दै ज्ञान निर्माण तथा आदानप्रदानको साझा मञ्च तयार गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबीच संस्थागत साझेदारी विस्तार, उच्च शिक्षालाई समाज र व्यवसायको आवश्यकतासँग जोड्ने, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने तथा सामुदायिक क्याम्पसहरूको अनुसन्धानात्मक भूमिका सशक्त बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया