काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले सफलताको श्रेय सम्पूर्ण टोलीलाई दिएका छन्। उनले यो उपाधि खेलाडी र प्रशिक्षकको निरन्तर मेहनतको प्रतिफल भएको बताएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
उपाधिपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला वर्षहरूमा लगातार फाइनल पुगे पनि ट्रफी जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए। आफू अन्तिम समयमा टोलीमा जोडिएको उल्लेख गर्दै उनले वास्तविक हकदार सम्पूर्ण खेलाडी र प्रशिक्षक भएको बताए।
उनले नेपाली दर्शकबाट पाएको माया र समर्थनलाई अविस्मरणीय अनुभवका रूपमा व्याख्या गरे। मैदानमा समर्थकले आफ्नो नाम लिएर गरेको हुटिङले थप ऊर्जा दिएको उनको भनाइ थियो। फाइनलमा फिल्डिङ, बलिङ र ब्याटिङ तीनै क्षेत्रमा टोलीले उत्कृष्ट सामूहिक प्रदर्शन गरेको उनले बताए।
यता उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले प्रतियोगिताभर आफ्नो टोलीले च्याम्पियनको स्तरमा खेले पनि फाइनलको दिन नतिजा आफ्नो पक्षमा नआएको प्रतिक्रिया दिएका छन्।
‘हामीले लिग चरण र क्वालिफायर वानमा जुन हिसाबले खेल्यौँ, त्यो च्याम्पियनकै स्तरको थियो। आज हाम्रो दिन थिएन। समग्रमा प्रतियोगिता निकै राम्रो रह्यो,’ रोहितले भने।
उनले फाइनलमा सुदूरपश्चिमका ब्याटर, विशेषगरी मुन्सेको प्रदर्शन उत्कृष्ट रहेको स्वीकार गरे। लुम्बिनीका बलरले आफ्नो क्षमताअनुसार प्रयास गरे पनि विपक्षी ब्याटरलाई रोक्न नसकेको उनको भनाइ थियो।
रोहितले दोस्रो इनिङमा परेको शीतका कारण बलिङ कठिन भएको बताए। शीतले बल स्किड भएर ब्याटमा आउँदा फास्ट बलर र स्पिनर दुवैलाई अपेक्षित सहयोग नमिलेको उनको विश्लेषण थियो। लुम्बिनीको ब्याटिङका क्रममा भएको रनआउटले पनि रनगति प्रभावित पारेको उनले उल्लेख गरे।
विदेशी खेलाडीको अनुभव र नेपाली खेलाडीको प्रदर्शनले टोलीलाई बलियो बनाएको बताउँदै उनले रिजन, लोकेश, कमललगायत खेलाडीको योगदानको प्रशंसा गरे।
फाइनलमा हार बेहोरे पनि सिजनभर साथ दिएको समर्थकप्रति आभार व्यक्त गर्दै रोहितले आगामी संस्करणमा अझ बलियो भएर फर्किने प्रतिबद्धता जनाए।







प्रतिक्रिया