काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। त्यसैले बिहानको समयमा यात्रा गर्ने तथा सडक यातायातमा संलग्न हुनेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमानले सुझाएको छ।







प्रतिक्रिया