काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। शुक्रबार बिहानैदेखि परेको निरन्तर झरीले सर्वसाधारणको आवतजावत, दैनिक कामकाज र सडक यातायातमा असहजता थपेको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भई वर्षा भइरहेको हो। वर्षासँगै उपत्यकाको तापक्रम घट्दा मौसम चिसो बनेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने जोखिम रहेकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन मौसमविद्ले सुझाव दिएका छन्।







प्रतिक्रिया