विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने पेस्तोल र करिब आधा किलो खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
घाइते हुनेमा भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेका छन्। उनीहरू दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन्।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन भएको थियो। मंगलबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित दुई मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो। तर, प्रहरीको नियन्त्रणबाट उम्किन खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउण्ड गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ।
पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेको समूह लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया