काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बुधबार जिल्ला अदालत ललितपुरमा बयान दिएका छन्। दुवैको बयान सकिएसँगै अब मुद्दामा बहस प्रक्रिया अघि बढ्ने भएको छ।
जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले नेम्वाङ र राईको बयान सकिएको र अब बहस सुरु हुने जानकारी दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेम्वाङ, राई, एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा छुटिसकेका छन्। अध्यक्ष नेम्वाङ र महासचिव राई भने बुधबार अदालतमा उपस्थित भएर बयान दिएका हुन्।
एन्फाका अध्यक्ष र महासचिव नै मुद्दामा प्रतिवादी बनेपछि यो प्रकरण नेपाली फुटबल क्षेत्रमा चासोको विषय बनेको छ। अब अदालतमा हुने बहस र त्यसपछिका आदेशले मुद्दाको आगामी प्रक्रिया तय गर्नेछ।







प्रतिक्रिया