२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३ सिटको अनुमानित समर्थन पाउँदा विपक्षीले माग्यो सत्ता परिवर्तन
काठमाडौं । इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले प्रारम्भिक मतगणनामा अग्रता लिएको छ। करिब २५.२ प्रतिशत मतगणना हुँदा लिकुड पार्टी ३२ सिटमा अगाडि देखिएको छ। गठबन्धनका दलहरूलाई समेत जोड्दा नेतान्याहु पक्षले ६३ सिटको अग्रता लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रारम्भिक मतगणनाअनुसार विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन ४९ सिटमा अगाडि छ भने अरब पार्टीहरूले आठ सिटमा अग्रता लिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले यी आँकडा परिवर्तन हुन सक्नेछन्।
एक्जिट पोलले नेतान्याहु र विपक्षी दुवै पक्षले स्पष्ट बहुमत हासिल गर्न नसक्ने संकेत गरेपछि सरकार गठनको समीकरण अनिश्चित बनेको छ। प्रारम्भिक मतगणनामा नेतान्याहु पक्षले अग्रता लिए पनि त्यसले मात्रै नयाँ सरकार गठनको सुनिश्चितता गर्दैन।
विपक्षी नेता आइजेनकोटले नेतान्याहुलाई प्रधानमन्त्री पद त्याग्न र राजनीतिबाट अलग हुन आग्रह गरेका छन्। जनताले परिवर्तनका पक्षमा मतदान गरेको उनको दाबी छ।
उता, नेतान्याहुले भने बलियो दक्षिणपन्थी सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्। प्रारम्भिक नतिजाले उनको गठबन्धनलाई सम्भावित बहुमतको अवस्थामा देखाए पनि अन्तिम परिणाम र सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरणले इजरायलको आगामी सत्ता निर्धारण गर्नेछ।







प्रतिक्रिया