साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने घोषणा गरेका छन्। प्रहरी दिवसको अवसरमा उनले प्रहरीको आधुनिकीकरण, साइबर तथा वित्तीय अपराध नियन्त्रण र सुरक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्ने सरकारी योजना पनि अघि सारेका हुन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। उनको सन्देश प्रहरी महानिरीक्षकले कार्यक्रममा वाचन गरेका थिए।
प्रधानमन्त्रीको घोषणाअनुसार प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, विपद् व्यवस्थापनमा प्रहरीको क्षमता बढाउने तथा आधुनिक प्रविधि र तालिममा लगानी विस्तार गर्ने योजना छ। साइबर अपराध र वित्तीय अपराधका बदलिँदा चुनौती सामना गर्न प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको सन्देशमा उल्लेख छ।
‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ,’ सन्देशमा भनिएको छ।
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने घोषणा सार्वजनिक भए पनि त्यसको कार्यान्वयन समयसीमा, लगानीको स्रोत, शैक्षिक कार्यक्रम र आवश्यक पूर्वाधारबारे विस्तृत खाका भने सन्देशमा खुलाइएको छैन। त्यसैले यो घोषणा व्यवहारमा उतार्न सरकारले अब नीतिगत निर्णय, स्रोत व्यवस्थापन र कार्ययोजना स्पष्ट पार्नुपर्ने देखिन्छ।
प्रधानमन्त्री शाहले आन्तरिक शान्ति र सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संकटका बेला धैर्य, सही निर्णय र प्रभावकारी कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्ने बताएका छन्। प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारलाई पनि उनले धन्यवाद दिएका छन्।







प्रतिक्रिया