काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको संरक्षणका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय विकास, आर्थिक तथा सामाजिक रूपान्तरण र विपत्तिका समयमा आपसी सहयोगलाई प्रभावकारी बनाउन राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखेका हुन्।
प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा गर्नु पार्टीको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसका लागि नेता तथा कार्यकर्ता आवश्यक पर्दा बलिदान दिनसमेत तयार हुनुपर्ने बताए।
उनले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेद कायम रहँदासम्म समृद्ध नेपालको परिकल्पना साकार हुन नसक्ने बताए। सामाजिक असमानता अन्त्य गर्दै सबै नागरिकले समान अवसर पाउने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा थियो।
नेताहरूले राजनीतिक उपलब्धिको संरक्षण, सामाजिक न्याय र आर्थिक विकासलाई अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।







प्रतिक्रिया