काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको प्रतिसेयर मूल्य १०० रुपैयाँबाट ८०० रुपैयाँ पुगेको विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयले प्रश्न उठाएको छ। कार्यालयले मूल्यमा भएको अस्वाभाविक वृद्धिको आधार, कारण र कानुनी प्रक्रिया पुष्टि हुने प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयले कामाख्या फिनकर्पसँगै कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र तत्कालीन अध्यक्ष सुभी अग्रवालका नाममा समेत छुट्टाछुट्टै ७ दिने सूचना जारी गरेको छ। कार्यालयका अनुसार कामाख्या फिनकर्प कम्पनी २०७८ वैशाख ३१ गते दर्ता हुँदा प्रतिसेयर मूल्य १०० रुपैयाँ कायम थियो। तर त्यसको करिब दुई महिनापछि २०७८ असार १७ गते प्रतिसेयर मूल्य ८०० रुपैयाँ कायम भएको देखिएको छ।
यति छोटो अवधिमा सेयर मूल्यमा भएको आठ गुणासम्मको वृद्धिको ठोस आधार के हो? मूल्य परिवर्तनको निर्णय कुन प्रक्रियाबाट भयो? त्यसलाई पुष्टि गर्ने कागजात र प्रमाण के छन्? भन्ने प्रश्न रजिस्ट्रारको कार्यालयले उठाएको छ। कार्यालयले कम्पनीको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन, २०६३ अनुरूप सेयर मूल्य परिवर्तन भए/नभएकोबारे समेत प्रमाण मागेको छ। मूल्य निर्धारण र परिवर्तनका क्रममा अपनाइएको कानुनी तथा व्यावसायिक प्रक्रियाको विवरणसमेत पेस गर्न भनिएको छ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर पनि छानबिनको दायरामा
कामाख्या फिनकर्पको सेयर मूल्यमा भएको परिवर्तनबारे स्पष्टीकरण माग्नुका साथै कार्यालयले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर जफत तथा हस्तान्तरण प्रक्रियासमेत कानुनसम्मत भए/नभएकोबारे प्रमाण खोजेको छ। संस्थापक सेयर जफत तथा हस्तान्तरण गर्दा कम्पनीका आन्तरिक दस्तावेज, निर्णय प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाको पालना गरिएको थियो कि थिएन भन्ने विषयमा सम्बन्धित पक्षसँग प्रमाणसहित जवाफ मागिएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयले कामाख्या फिनकर्पसँगै तत्कालीन पदाधिकारी सुलभ अग्रवाल र सुभी अग्रवाललाई समेत छुट्टाछुट्टै सूचना जारी गरेपछि अब उक्त सेयर मूल्य परिवर्तन र संस्थापक सेयरसम्बन्धी प्रक्रियाको कानुनी आधार तथा निर्णय प्रक्रियामाथि थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
रजिस्ट्रारको कार्यालयले तोकेको ७ दिनभित्र सम्बन्धित पक्षले पेस गर्ने स्पष्टीकरण र प्रमाणपछि १०० रुपैयाँको सेयर दुई महिनामै ८०० रुपैयाँ कसरी पुग्यो भन्ने प्रश्नको आधिकारिक जवाफ खुल्नेछ।







प्रतिक्रिया