२०८३, १५ आश्विन शुक्रबार

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी


सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको तथ्यांकअनुसार जडिबुटी संकलनबाट स्थानीयको आम्दानी उल्लेख्य देखिएको हो । डिभिजन वन अधिकृत दीपेश केसीका अनुसार जडिबुटीको व्यवस्थित संकलन र उत्पादन विस्तार गर्न सके यसको आर्थिक योगदान अझ बढाउन सकिन्छ ।

गत आर्थिक वर्षमा जाजरकोटबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज र धुपीको पातलगायत ३७ प्रजातिका जडिबुटी निकासी भएका छन् । तीमध्ये टिमुर र झ्याउ स्थानीय आम्दानीका प्रमुख स्रोत बनेका छन् । जिल्लाबाट मात्रै १ लाख ९८ हजार ७५९ किलो टिमुर निकासी भएको छ । निजी आवादीबाट १ लाख ३ हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारी वनबाट ४२ हजार ६८७ किलो टिमुर संकलन गरिएको हो ।

संकलनस्थलमै टिमुरको मूल्य प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म पर्ने गरेको छ । औसत ६०० रुपैयाँ मूल्यका आधारमा टिमुरबाट मात्रै स्थानीयले करिब १२ करोड रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै, झ्याउबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वनमै जोडिएको ग्रामीण अर्थतन्त्र

जाजरकोटको कुल भूभागको ६०.१८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । वन, वन्यजन्तु, जडिबुटी तथा जैविक विविधताले समृद्ध जिल्लामा जडिबुटी संकलन आयआर्जन र रोजगारीको महत्वपूर्ण माध्यम बनेको छ । जडिबुटीबाहेक आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रबाट १ करोड ३ लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व, ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर तथा सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको छ ।

तर करोडौँको आम्दानीसँगै वन संरक्षणमा चुनौती पनि उत्तिकै छन् । जिल्लामा १ हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन डढेलो, अवैध वन पैदावार चोरी निकासी तथा मानव–वन्यजन्तु द्वन्द्वलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । गत वर्ष ३८ वटा सामुदायिक वनमा ५५ पटक डढेलो लागेको थियो भने वन तथा वन्यजन्तु अपराधसम्बन्धी पाँच मुद्दा अभियोजन भई फछ्र्योट भएका छन् ।

जडिबुटी र वन संरक्षणलाई सँगसँगै अघि बढाउन कार्यालयले उत्पादन र वृक्षारोपणमा समेत जोड दिएको छ । करिब ४० हेक्टर क्षेत्रमा ५५ हजार बिरुवा रोपिएको छ भने कार्यालयको बहुवर्षीय नर्सरीमा करिब ५० हजार बिरुवा उत्पादन गरिएको छ । व्यावसायिक उत्पादन, दिगो संकलन र संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउन सके जाजरकोटको वन तथा जडिबुटी स्थानीय अर्थतन्त्रको अझ ठूलो आधार बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ८ : ३० बजे

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक