२०८३, ९ आश्विन शनिबार

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध


काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

बागमती प्रदेशमा धेरै सडक प्रभावित

ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्तिबेंसी र चारसय बेंसीमा पहिरो खसेको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिपी राजमार्गमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मकवानपुरको कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ बगुवाखोला नजिक तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ ।

रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु सडकखण्ड पनि प्रभावित भएका छन् । सिन्धुली र दोलखामा समेत रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध

ओखलढुङ्गाको सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमाना भँडारे खोला तथा सिद्धिचरण नगरपालिका–५ चित्रेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाँचथरको तुम्बेवा गाउँपालिका–२ नांवाखोलामा तमोर करिडोर तथा याङवरक गाउँपालिका–२ दोभाने खोलामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

भारी वर्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरका विभिन्न सडकमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सवारी साधनलाई भने आवागमनको व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशमा पनि सडक आवागमन प्रभावित

मनाङको चामे–बेँसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ कानाबगर तथा कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पोखरा–बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्तीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

लुम्बिनी र कर्णालीमा पनि यातायात प्रभावित

रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–७ माडीचौर तथा घोराही–थवाङ–रुकुम सहिद मार्गअन्तर्गत माडी–३ गरगरेमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ रिपामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

गुल्मीको मदन भण्डारी राजमार्ग, रुद्रबेँसी–वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ । दाङका राप्ती राजमार्ग, भालुवाङ–चकचके र सहिद मार्गमा समेत आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ ।

जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह

लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । सम्भव भएसम्म जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न तथा रात्रिकालीन समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले सडक तथा राजमार्गको अवस्था जुनसुकै समयमा परिवर्तन हुन सक्ने भएकाले यात्रुले थप सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ८ : ४५ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा