काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्न थालेपछि नेपालमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ। यस्तै राति कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा समेत धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
बाढी–पहिरोको जोखिम बढ्न सक्ने
लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र तराईमा डुबानको जोखिम बढ्न सक्ने देखिएको छ। भारी वर्षा हुने क्षेत्रमा यात्रा तथा दैनिक काममा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ। यस्तै मधेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन्। विशेषगरी कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।







प्रतिक्रिया