काठमाडौं । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अबको एमालेको प्राथमिकता प्रतिनिधिसभा पुनःस्थापनाको बहस नभई एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्नु भएको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले विगतको बहसमा अल्झिनुभन्दा अब पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने दिशामा अघि बढ्नुपर्ने बताए।
उनले अबको मुख्य राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचन भएको भन्दै त्यसअघि पार्टी पंक्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई केन्द्रीय सदस्यहरूको सुझावसहित परिमार्जन गरेर स्पष्ट कार्यदिशा, समयसीमा र जिम्मेवारी तोकी तत्काल कार्यान्वयनमा लैजानुपर्ने कार्कीको प्रस्ताव छ। भदौ २३–२४ पछिको राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितको संरक्षण एमालेको महत्वपूर्ण दायित्व भएको उनले बताए। संविधान पक्षधर शक्तिसँग साझा मुद्दामा आवश्यकताअनुसार कार्यगत सहकार्य गर्न सकिने भए पनि सहकार्य र पार्टी एकीकरणलाई एउटै विषयका रूपमा बुझ्न नहुने उनको भनाइ छ। ‘नेकपा एमालेको आफ्नै वैचारिक, सांगठनिक र राजनीतिक पहिचानलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ,’ कार्कीले भने।
उनले पार्टीको आन्तरिक एकता, संगठन पुनर्संरचना र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई तत्कालको पहिलो प्राथमिकता बनाउनुपर्ने बताए। पार्टीको आत्मगत अवस्था बलियो नबनाई सडक संघर्ष वा कुनै पनि राजनीतिक अभियान प्रभावकारी हुन नसक्ने उनको निष्कर्ष थियो। ‘पहिले पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाऔँ, संगठनलाई जनतासँग जोडौँ, त्यसपछि स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण पार्टी परिचालन गरौँ,’ कार्कीले भने। कार्कीले अहिलेको बहस कुनै व्यक्ति वा समूहलाई जिताउने–हराउने विषय नभई एमालेलाई बलियो, एकताबद्ध, जनमुखी र आगामी चुनौती सामना गर्न सक्ने राजनीतिक शक्तिका रूपमा पुनःनिर्माण गर्ने प्रश्न भएको बताए।







प्रतिक्रिया