काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक ध्रुवीकरण गर्न नहुने बताएका छन्। संविधान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले आवश्यकता र अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने तर त्यसका लागि परिपक्व संवाद आवश्यक रहेको बताए।
थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक सुधार गर्न सकिने भन्दै संशोधन प्रक्रियामा कांग्रेसले अन्य दलसँग संवादको नेतृत्व गर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गर्ने शक्तिहरू एकजुट हुनुपर्ने बताइरहेका बेला थापाले रास्वपालाई अलग गर्ने धारणा अस्वीकार गरे।
“संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौँ भन्ने कुरा गर्नु हुँदैन। संविधानका नाममा ध्रुवीकरण गर्नु हुँदैन,” थापाले भने।
उनले संविधानको विषयमा सबै दलसँग सहकार्य आवश्यक रहेको बताए। “रास्वपा पनि चाहिन्छ। सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो, संविधानको नाममा घेराबन्दी गर्ने वा ध्रुवीकरण गर्ने होइन,” उनले भने।







प्रतिक्रिया