इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
जिल्ला समन्वय समिति सुनसरीको संयोजनमा आयोजित प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता थियो।
जिल्ला समन्वय समिति परिसरबाट सुरु भएको प्रभातफेरी इनरुवाको मुख्य बजार क्षेत्र हुँदै पञ्चवटी पार्क पुगेको थियो। त्यहाँ पुगेर प्रभातफेरी कोणसभामा परिणत भएको थियो।
कार्यक्रमको समापनमा जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष राजन मेहताले राष्ट्रिय झण्डा फहराएका थिए। सो अवसरमा अध्यक्ष मेहता र प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले संविधान दिवसको महत्वबारे सम्बोधन गरेका थिए।
संविधान दिवसकै अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले संविधान, राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।







प्रतिक्रिया