काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छन्।
यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ।
पछिल्ला दिनमा बजारमा ग्यासको अभाव बढ्दै गएपछि सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठेको थियो। उपभोक्ताले लामो समयसम्म ग्यास नपाउँदा मन्त्री यादवमाथि समस्या समाधान गर्न नसकेको आरोपसहित आलोचना बढेको थियो।
त्यसैबीच, हिजो बसेको संसदीय समिति बैठकमा मन्त्री यादवले ग्यास अभावको जिम्मेवारी उद्योगीमाथि थोपरेकी थिइन्। उनले मन्त्रालयका कर्मचारीले समेत आफूलाई आवश्यक सहयोग नगरेको गुनासो गरेकी थिइन्।
मन्त्री यादवले उद्योगीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिँदै लाइसेन्स खारेज गर्नेसम्मको अभिव्यक्ति दिएपछि व्यवसायीहरू थप आक्रोशित बनेका थिए। व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत सम्पर्क गरी मन्त्रीको अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए।
ग्यास अभाव, उद्योगी–मन्त्रालय विवाद र मन्त्रीको विवादास्पद अभिव्यक्तिबीच यादवको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।







प्रतिक्रिया