काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको रहस्य तत्काल खोल्नुपर्ने बताएका छन्। उनले घटनाको गहिरो अनुसन्धानमार्फत वास्तविक योजनाकार र दोषी पहिचान गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन्।
भदौ २४ गतेलाई नेपालको इतिहासकै अत्यन्तै रहस्यमय र भयावह दिनका रूपमा चित्रण गर्दै प्रचण्डले केही घण्टामै भएको ठूलो विध्वंस सामान्य घटनाका रूपमा लिन नसकिने बताएका हुन्।
भिडियो सन्देशमार्फत उनले भनेका छन्, “यो स्तरको हमला र केही घण्टाभित्रै भएको विध्वंस साँच्चिकै रहस्यमय छ।” घटनाको पछाडिका तत्व पहिचान गर्न गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। प्रचण्डले एक वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनमा नलगिएको आरोप लगाउँदै उनले प्रतिवेदन दराजमा थन्क्याएर राख्ने प्रवृत्तिले थप शंका जन्माएको बताए।
उनले भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई भदौ २४ को घटनाले सम्बोधन नगरेको दाबी गरे। बरु त्यस घटनाले जेनजी युवाहरूको आन्दोलन र आकांक्षामाथि नै प्रहार गरेको उनको आरोप छ। प्रचण्डले भदौ २४ को घटनालाई केवल आन्तरिक राजनीतिक घटनाका रूपमा सीमित गरेर हेर्न नहुने संकेतसमेत गरेका छन्। वर्तमान भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामबाट समेत अनुसन्धान गर्नुपर्ने उनले बताएका छन्।
उनको भनाइले घटनाको जिम्मेवारी, योजनाकार र त्यसपछिका राजनीतिक घटनाक्रमबारे पुनः गम्भीर बहस आवश्यक रहेको संकेत गरेको छ। प्रचण्डले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही नगरेसम्म घटनाको वास्तविक रहस्य बाहिर नआउने बताएका छन्।







प्रतिक्रिया