काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका प्रहरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीले ‘कुनै कसर बाँकी नराख्न’ कडा निर्देशन दिएका छन्।
शुक्रबार नुवाकोट, रसुवालगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै कार्कीले उद्धार, खोजी, शव व्यवस्थापन तथा राहत वितरणको अवस्थाबारे जानकारी लिए।
उनले विपद्को कठिन अवस्थामा उच्च मनोबलका साथ खटिन र आफ्नो ज्ञान, सीप तथा क्षमताको अधिकतम प्रयोग गर्दै सम्भावित जोखिममा परेकाको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिए।
बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार रोक्न विशेष संवेदनशील बन्न पनि उनले प्रहरीलाई निर्देशन दिए।
विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न चनाखो रहन तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरण पारदर्शी बनाउन कार्कीले जोड दिए।
अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता थियो।







प्रतिक्रिया