२०८३, १८ भाद्र शुक्रबार

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व


काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका रूपमा लिइन्छ । 

ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार कृष्ण जन्माष्टमी केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन, भगवान् श्रीकृष्णले देखाउनुभएको प्रेम, सत्य र सत्कर्मको मार्गलाई स्मरण तथा अनुसरण गर्ने अवसर पनि हो ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पण्डित नेपालले भाद्र कृष्ण पक्षको अष्टमीको रातमा भगवान् श्रीकृष्णको प्राकट्य भएको पावन तिथिका रूपमा जन्माष्टमी मनाउने परम्परा सदियौँदेखि चलिआएको बताए । उनका अनुसार मानव जीवनको अर्थ र सही मार्गबारे मार्गदर्शन गर्ने भगवान् श्रीकृष्णको जीवन र कर्मलाई सम्झनु नै यस पर्वको मूल भाव हो ।

उनले भने, ‘भाद्र महिना कृष्णपक्षको अष्टमीको रातमा जगतका नायक भगवान् श्रीकृष्णको प्राकट्य उत्सव भएको पावन तिथि र समय हो । सदियौँदेखि हामीले मनाइ आइरहेका छौँ, जसले एउटा प्रेम लक्षणले अथवा जीवन के हो भन्ने कुराको मार्गदर्शन गराउन सफल छ । जगत चराचरमा विभिन्न चरण पार गर्दागर्दै मानव चोलाको रूपमा सृष्टि हुनुभएका भगवान् श्रीकृष्णको प्राकट्य उत्सवको रूपमा मनाउने हाम्रो परम्परा हो ।’

कसरी मनाइन्छ कृष्ण जन्माष्टमी ?

कृष्ण जन्माष्टमीका दिन बिहानै स्नानलगायतका नित्यकर्म पूरा गरी भगवान् श्रीकृष्णको आराधना गर्ने परम्परा छ । भक्तजनहरू कृष्ण मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्ने, दिनभर भगवान् श्रीकृष्णको भजन–कीर्तन गर्ने र उहाँलाई मनपर्ने विभिन्न पदार्थ अर्पण गर्ने गर्छन् ।

पण्डित नेपालका अनुसार जन्माष्टमीको विशेष विधि भने मध्यरातसँग जोडिएको छ । भक्तजनहरू दिनभर व्रत तथा उपासना गरी राति १२ बजेसम्म जागरण बस्ने गर्छन् । मध्यरातमा भगवान् श्रीकृष्णको प्राकट्य उत्सव मनाएपछि भगवानलाई स्नान गराउने, पूजा तथा भोग अर्पण गर्ने र त्यसपछि प्रसाद ग्रहण गरेर व्रत समापन गर्ने परम्परा रहेको उनले बताए ।

‘जन्माष्टमीका दिन बिहान स्नानलगायतका नित्यकर्म पूरा गरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरिन्छ । दिनभर व्रत तथा उपासना गरेर भजन–कीर्तनमा सहभागी हुने र राति १२ बजेसम्म जागरण बस्ने परम्परा छ । मध्यरातमा भगवान् श्रीकृष्णको प्राकट्य उत्सव मनाएपछि स्नान, पूजा तथा भोग अर्पण गरी प्रसाद ग्रहण गरेर व्रत समापन गर्ने विधि हो,’ उनले भने ।

प्रेम र सत्यको सन्देश

पण्डित नेपालका अनुसार भगवान् श्रीकृष्णलाई सत्यको स्वरूप तथा प्रेमको परिभाषा सिकाउने भगवानका रूपमा बुझिन्छ । उहाँले असत्यमाथि सत्यको विजयको सन्देश दिनुभएको र मानवलाई सत्मार्गतर्फ उन्मुख गराउने कर्म गर्नुभएको उनको भनाइ छ ।

‘भगवान् श्रीकृष्णले प्रेमको परिभाषा सिकाउनुभएको छ । उहाँका कर्मले असत् मार्गमा रहेका मानिसलाई पनि सत्यको बाटोतर्फ उन्मुख गराउँछ । श्रीकृष्ण भनेको सत्यव्रत, सत्य स्वरूपमा रहनुभएको भगवान् हुनुहुन्छ । जसले प्रेमको परिभाषा सिकाउनुभएको छ,’ पण्डित नेपालले भने ।

उनका अनुसार भगवान् श्रीकृष्णको व्यक्तित्वमा मानिसलाई आफूतर्फ आकर्षित गर्ने अद्भुत क्षमता रहेको धार्मिक विश्वास छ । श्रीकृष्णको दर्शन र उहाँप्रतिको भक्ति मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बन्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘श्रीकृष्णको व्यक्तित्वमा मानिसलाई आफूतर्फ आकर्षित गर्ने अद्भुत क्षमता छ । उहाँको दर्शन र भक्ति जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बन्न सक्छ ।’

श्रीकृष्णका कर्मको अनुसरण

जन्माष्टमीको वास्तविक उद्देश्य भगवान् श्रीकृष्णको पूजा गर्नु मात्र नभई उहाँले देखाउनुभएको जीवनपद्धति र सत्कर्मलाई आफ्नो व्यवहारमा उतार्नु रहेको पण्डित नेपालको धारणा छ ।

उनका अनुसार कृष्ण जन्माष्टमीका अवसरमा भक्तजनले श्रीकृष्णका विभिन्न लीला र कर्मलाई स्मरण गर्दै प्रेम, सत्य, सद्भाव र सत्कर्मको बाटोमा अघि बढ्ने संकल्प गर्नुपर्छ । नकारात्मक भावनाबाट टाढा रही सकारात्मक सोच र मानवीय व्यवहारलाई आत्मसात् गर्नु नै श्रीकृष्णप्रतिको सच्चा श्रद्धा हुने उनको भनाइ छ ।

उनले भने, ‘जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा गर्ने दिन मात्र होइन, उहाँले देखाउनुभएको जीवनपद्धति र सत्कर्मलाई आफ्नो व्यवहारमा उतार्ने अवसर पनि हो । यस दिन हामीले श्रीकृष्णका लीला र कर्मलाई स्मरण गर्दै प्रेम, सत्य, सद्भाव र सत्कर्मको बाटोमा अघि बढ्ने संकल्प गर्नुपर्छ । नकारात्मक भावनाबाट टाढा रही सकारात्मक सोच र मानवीय व्यवहारलाई आत्मसात् गर्नु नै श्रीकृष्णप्रतिको सच्चा श्रद्धा हो ।’

यस अर्थमा कृष्ण जन्माष्टमी एउटा धार्मिक पर्वसँगै प्रेम, सत्य र सद्कर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने सांस्कृतिक तथा आध्यात्मिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ ।

प्रकाशित मिति : २०८३, १८ भाद्र शुक्रबार  ९ : ४२ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन