२०८३, १२ आश्विन मंगलबार

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव


काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र चिउरालगायतका जंक फुडभन्दा पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन चिकित्सकहरूले सुझाव दिएका छन्।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि प्रभावित परिवारका घरबाससँगै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसमेत बगाएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था, निजी क्षेत्र र दाताले राहत वितरण गरिरहेका छन्।

राहतमा चाउचाउ, बिस्कुट, चिउरालगायतका सामग्रीको मात्रा बढी देखिए पनि यस्ता खाद्य पदार्थले तत्काल भोक मेटाउन सहयोग गरे पनि दीर्घकालीन पोषणका लागि पर्याप्त नहुने चिकित्सकहरूको भनाइ छ।

फिजिसियन डा. दुर्गा महर्जनका अनुसार विपद्का बेला विशेषगरी बालबालिकाको नियमित खानपान प्रभावित हुने भएकाले उनीहरूलाई झोलिलो, सहज रूपमा खान सकिने र पोषणयुक्त खाना उपलब्ध गराउन आवश्यक छ।

बालबालिकाका लागि फलफूल, हरियो सागपात, गेडागुडी तथा अन्य पौष्टिक खाद्य सामग्रीले शारीरिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता कायम राख्न सहयोग गर्ने उनले बताए। विपद्का कारण बालबालिकामा मानसिक असरसमेत पर्न सक्ने भएकाले उनीहरूको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै, गर्भवती तथा सुत्केरी महिलाका लागि पर्याप्त पोषणयुक्त खाना आवश्यक हुने भएकाले राहत वितरणमा उनीहरूको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने चिकित्सकहरूले बताएका छन्। आमाको स्वास्थ्य कमजोर हुँदा नवजात शिशुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले उनीहरूका लागि आवश्यक खाद्य सामग्री छुट्टै व्यवस्थापन गर्नुपर्ने सुझाव छ।

वृद्धवृद्धाका लागि सहज रूपमा पच्ने, पौष्टिक तथा स्वास्थ्य अवस्थाअनुकूल खाना आवश्यक हुन्छ। त्यसैले सबै प्रभावितलाई एउटै प्रकारको राहत सामग्री वितरण गर्नुको सट्टा उमेर, स्वास्थ्य अवस्था र पोषण आवश्यकताअनुसार सामग्री छनोट गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

राहत वितरणमा दाल, गेडागुडी, चामल, फलफूल, पौष्टिक आहार तथा उपलब्धताअनुसार हरियो सागपातजस्ता खाद्य सामग्रीलाई प्राथमिकता दिनुपर्ने उनीहरूले बताएका छन्।

राहतको उद्देश्य तत्काल भोक मेटाउनु मात्र नभई विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य जोगाउनु पनि भएकाले राहत वितरण गर्ने निकाय र दाताले ‘कति राहत पुग्यो’सँगै ‘कस्तो राहत पुग्यो र कसलाई पुग्यो’ भन्ने विषयमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ९ : १६ बजे

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि गएको

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०