काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।
बिहीबार बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ।
यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका विषयमा छलफल हुनेछ।
पूर्वाधार विकास समितिको बैठक भने बिहान १० बजे बस्नेछ। बैठकमा प्राकृतिक प्रकोपका कारण पूर्वाधार क्षेत्रमा परेको असरका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
चारवटै समितिका बैठकमा समसामयिक तथा जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुने भएकाले आजको संसदीय गतिविधिलाई चासोका साथ हेरिएको छ।







प्रतिक्रिया