काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीप्रति प्रतिनिधि सभाले गम्भीर चासो व्यक्त गर्दै खोज, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
सभामुख डीपी अर्यालले बैठकमा प्रस्तुत गरेको विशेष प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मत रूपमा पारित गर्दै विपत्तिको समयमा तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्न आग्रह गरेको हो।
प्रस्तावमार्फत बाढीबाट प्रभावित तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्न, घरबारविहीनहरूको पुनर्स्थापना गर्न र घाइतेको उचित तथा शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको छ।
सभामुख अर्यालले विपत्तिका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
राष्ट्रिय शोकको यस घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर विपद् प्रभावितको उद्धार र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश प्रतिनिधि सभाको विशेष प्रस्तावले दिएको छ।







प्रतिक्रिया