नुवाकोट । बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला नेशनल भोलेन्टियर फोर्स राहत, उद्धार र व्यवस्थापनमा स्वयंसेवकसहित मैदानमा खटिएको छ। पीडितको पीडामा साथ दिन फोर्सका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा ६० जना स्वयंसेवकको टोली नुवाकोट पुगेको हो।
फोर्सले १० लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री लिएर नुवाकोट पुगेको जनाएको छ। टोलीले स्थानीय आवश्यकता र अवस्थाको पहिचान गर्दै पीडित परिवारलाई राहत सामग्री वितरण गरिरहेको छ। नुवाकोटको राहत तथा उद्धार कार्यपछि फोर्सको टोली रसुवा जाने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए। ‘विपद्का बेला भाषणभन्दा सहयोग चाहिन्छ, आश्वासनभन्दा हात चाहिन्छ’ भन्ने भावनासहित स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित भएको श्रेष्ठको भनाइ छ। उनका अनुसार टोलीले तत्कालीन राहत वितरणसँगै खाना, बसोबास र सुरक्षाको समस्यामा परेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने योजना बनाएको छ। विपद्पछि धेरै परिवारको घरबास प्रभावित भएको, खानेकुराको अभाव देखिएको तथा सुरक्षित रूपमा बस्नसमेत समस्या भइरहेको अवस्थामा फोर्सले निःशुल्क खाना खुवाउने मेस सञ्चालन गर्ने तयारी गरेको छ।
पीडितलाई राहत सामग्री दिएर मात्र आफ्नो जिम्मेवारी पूरा नहुने भन्दै प्रभावित नागरिकलाई आवश्यक अवधिसम्म निरन्तर सहयोग गर्ने योजना बनाइएको श्रेष्ठले बताए। फोर्सको टोलीले स्थानीय तह, प्रहरी प्रशासन तथा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको छ। साथै नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ। टोलीमा फोर्सका केन्द्रीय अध्यक्ष श्रेष्ठसँगै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ पनि सहभागी छन्। यो नेशनल भोलेन्टियर फोर्सको दोस्रो चरणको राहत तथा उद्धार अभियान हो। यसअघि पनि फोर्सले विपद्पीडित क्षेत्रमा राहत सामग्रीसहित स्वयंसेवक परिचालन गरी सहयोग गरेको थियो। ‘महिनौँ होइन, आवश्यक परेसम्म मैदानमै’ फोर्सले यसपटकको टोलीलाई छोटो समयको औपचारिक भ्रमणका रूपमा नभई दीर्घकालीन स्वयंसेवी अभियानका रूपमा अघि बढाउने जनाएको छ। टोली कम्तीमा एक महिनाभन्दा बढी समय प्रभावित क्षेत्रमा रहेर राहत, उद्धार, खाना व्यवस्थापन तथा आवश्यक सहयोगमा खटिने तयारीमा छ।
विपद्पछि उद्धार र राहत व्यवस्थापनमा राज्यका संयन्त्र सक्रिय भए पनि प्रभावित नागरिकको दैनिकी अझै सहज बन्न नसकेको स्वयंसेवकहरूको अनुभव छ। विशेषगरी खानेकुरा, सुरक्षित बसोबास र आधारभूत आवश्यकताको व्यवस्थापन अहिले पनि चुनौतीपूर्ण रहेको उनीहरू बताउँछन्। बाढीपहिरोपछि ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन र त्यससँग जोडिएका प्रक्रियामा राज्यका निकाय अल्झिरहेका बेला बाँचेकाहरूको तत्कालीन आवश्यकता पनि उत्तिकै गम्भीर रहेको स्वयंसेवकहरूको भनाइ छ। ‘विपद्मा ज्यान गुमाएकाहरूको सम्मानजनक व्यवस्थापन आवश्यक छ, तर बाँचेका नागरिकको भोक, पीडा र असुरक्षालाई पनि राज्यले उत्तिकै प्राथमिकता दिनुपर्छ,’ स्वयंसेवकहरूको अभियानको मूल भावना छ। एमालेको विपद् अभियानसँगै स्वयंसेवक मैदानमा विपद् व्यवस्थापनका लागि नेकपा (एमाले) ले केन्द्रीय सचिव महेश बस्नेतको कमाण्डमा विपद् व्यवस्थापन समिति गठन गरेको छ।
त्यसअन्तर्गत पार्टीका विभिन्न जनवर्गीय संगठनसमेत प्रभावित क्षेत्रमा परिचालित छन्। अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका स्वयंसेवकहरू एक सातादेखि प्रभावित क्षेत्रमा खटिएर उद्धार, राहत तथा व्यवस्थापनमा सहयोग गरिरहेका छन्। अब नेशनल भोलेन्टियर फोर्सको थप जनशक्ति र राहत सामग्री परिचालनले अभियानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ। प्राकृतिक विपद्ले घर मात्रै भत्काएको छैन, धेरै परिवारको आधार, आशा र दैनिकीसमेत भत्काएको छ।
यस्तो बेला राहतको एउटा पोका, तातो खानाको एउटा गाँस र संकटमा साथ दिने एउटा हात पनि पीडितका लागि ठूलो भरोसा बन्न सक्छ। त्यही भरोसा बोकेर नेशनल भोलेन्टियर फोर्सका स्वयंसेवकहरू अहिले नुवाकोटका प्रभावित बस्तीमा पुगेका छन्—राहत बोकेर मात्रै होइन, पीडितको दुःखमा केही समय भए पनि सँगै उभिन।







प्रतिक्रिया