काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन नेपाली सेनाले थप २३ जनाको जीवित उद्धार गरेको छ। उद्धार गरिएका सबैलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ।
सैनिक मुख्यालयले जारी गरेको पछिल्लो अपडेटअनुसार उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाका आधारमा नुवाकोटको विदुरस्थित अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार र स्वास्थ्य परीक्षण गरिनेछ। यसअघि उद्धार गरिएकामध्ये स्वास्थ्य परीक्षणपछि सामान्य अवस्थामा रहेका केहीलाई आफन्तको जिम्मा लगाइएको छ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका टनेलमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाले विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरेको छ।
सेनाका अनुसार टोलीले विभिन्न टनेलभित्र प्रवेश गरी खोजी कार्य जारी राखेको छ। एउटा टनेलमा करिब ५० मिटरभित्रसम्म खोजी गरिएको छ भने लाङटाङ हाइड्रोको टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। अपर त्रिशूली–१ मा संयुक्त टोली करिब २०० मिटरसम्म प्रवेश गरेको सेनाले जनाएको छ।
त्रिशूली थ्री बीमा टनेल हेड फेला परेपछि उद्धार कार्य थप तीव्र बनाइएको छ। सेनाका अनुसार टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने तथा जमेको पानी निकाल्ने काम भइरहेको छ।
पछाडीतर्फ रहेको वैकल्पिक मार्ग खोल्न तीन वटा एक्साभेटर प्रयोग गरी करिब १५ मिटर क्षेत्र खुलाइएको छ। टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकरमार्फत ढुङ्गा फुटाउने काम पनि जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली थ्री बीमा विज्ञसहितको फौज परिचालन गरी टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्साभेटरको माध्यमबाट भित्रतर्फ खन्ने काम भइरहेको छ।
यसअघि बाढीपछिको तत्कालीन उद्धार अभियानमा रसुवागढी–२ बाट २७९ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–थ्री एबाट २२१ जना र माथिल्लो त्रिशूली–थ्री बीबाट दुई जनाको जीवित उद्धार गरिएको थियो।
त्यस्तै, मैलुङबाट नौ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार जना, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना तथा देवघाट जलविद्युत्बाट ५० जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारका लागि टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नौ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
सेनाको टोलीले जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै उद्धारको आवश्यकता पहिचान गर्ने, घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा शवबाट किटाणु तथा अन्य संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै निसंक्रमण अभियान पनि सञ्चालन गरिएको सेनाले जनाएको छ।
धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताललगायतका क्षेत्रमा निसंक्रमणको काम गरिएको छ। परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मूलपानी सामुदायिक वन क्षेत्रमा पनि शव व्यवस्थापन तथा संक्रमण नियन्त्रणको काम भइरहेको सेनाले जनाएको छ।






प्रतिक्रिया