२०८३, १९ आश्विन मंगलबार

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा


काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती चर्किरहेका बेला राजनीतिक नेतृत्वको सक्रियताले दुई फरक तस्वीर देखाएको छ।

एकातिर बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा चोगटे प्रभावित क्षेत्रसम्म पुग्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा आफैँ खटिएका छन्। अर्कोतिर संघीय सरकारका मन्त्रीहरू भने प्रभावित क्षेत्रको निरीक्षणका लागि हेलिकप्टर चढ्ने र सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि सार्वजनिक गर्ने क्रममै बढी देखिएका छन्।

मुख्यमन्त्री थापा सरमथली–जीरोकिलो हुँदै रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा बिहानैदेखि स्थलगत रूपमा सक्रिय छन्। बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउन सडक नै सबैभन्दा महत्त्वपूर्ण माध्यम बनेकाले आवागमन सहज बनाउन कामलाई तीव्रता दिइएको उनले बताएका छन्। “आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भन्ने उद्देश्यले सडक निर्माणसँगै बाटोलाई फराकिलो र व्यवस्थित बनाउने कामलाई तीव्रता दिएका छौँ,” मुख्यमन्त्री थापाले भने। विपद्को कठिन घडीमा मुख्यमन्त्री थापा पीडितसँगै रहेर सडक खुलाउने र प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने काममा प्रत्यक्ष रूपमा खटिएको देखिन्छ। तर, संघीय मन्त्रीहरूको गतिविधि भने फरक ढंगले देखिएको छ। प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार र राहत कार्यको अनुगमन गर्न भन्दै मन्त्रीहरू हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने कार्यक्रम तय गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ पनि भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि रसुवा जाने कार्यक्रम छ। उद्धार, राहत र क्षतिको अवस्थाबारे जानकारी लिन उनी हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्नेछन्। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको विपद् व्यवस्थापनमा देखिएको उपस्थितिमाथि पनि प्रश्न उठ्न थालेको छ। कतिपय मन्त्रीहरू पीडितको बस्तीभन्दा फेसबुक पोस्ट र हेलिकप्टर यात्रामै बढी देखिएको टिप्पणी गर्न थालेका छन्। विपद्को घडीमा नेतृत्वको मूल्याङ्कन पोस्ट, फोटो र आकाशबाट गरिएको निरीक्षणले मात्र हुँदैन। पीडितको बीचमा पुगेर समस्या सुन्ने, अवरुद्ध बाटो खुलाउने, राहत व्यवस्थापन गर्ने र जनजीवन सामान्य बनाउन प्रत्यक्ष भूमिका खेल्ने नेतृत्व नै संकटका बेला जनताले खोज्ने नेतृत्व हो।

रसुवाको विपद्ले अहिले नेतृत्वका दुई तस्वीर प्रस्तुत गरेको छ- एकातिर धुलो र हिलोमा उभिएर सडक खोल्न खटिएको मुख्यमन्त्रीको नेतृत्व, अर्कोतिर हेलिकप्टरको आकाश र फेसबुकको फ्रेममा देखिएको संघीय मन्त्रीहरूको सक्रियता। विपद्मा अन्ततः जनताले पोस्ट होइन, उपस्थितिको अनुभूति खोज्छन्। प्रश्न एउटै हो-नेता साँच्चिकै पीडितको बीचमा छन् कि केवल फोटोको फ्रेममा ?

  • अमिता ठकुरी

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १ : ५२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि