काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री उपलब्ध गराएको छ।
गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई कम्पनीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो। कम्पनीका अनुसार सामाजिक संस्था ‘हामी नेपाली’ मार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको हो।
फिरिरी भेन्चर्सका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ। राहत सामग्रीमा ९ सय थान नयाँ टिसर्ट, खानेपानी तथा खाद्यान्न सामग्री रहेका छन्। खड्काले विपद्को समयमा बाढी प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। ‘देश ठूलो पीडामा रहेका बेला हरेक नेपालीले केही न केही सहयोग गर्न सक्छौं। सहयोग सानो–ठूलो हुँदैन, तर साँचो हुनुपर्छ भन्ने मान्यताले हामीले पनि यो राहत सामग्री उपलब्ध गराएका हौं,’ उनले भने।
फिरिरी ठूलो कम्पनी नभए पनि देशमै केही गर्ने उद्देश्यले युवाहरू मिलेर स्थापना गरेको कम्पनी भएकाले आफ्नो क्षमताअनुसार सहयोग गरिएको उनले बताए। ‘हामी ठूलो कम्पनी त होइनौं। देशभित्रै केही गर्नुपर्छ भन्ने युवाहरू मिलेर बनेको कम्पनी हो। हामीले सानो भए पनि सहयोग गरेका छौं। बाढीले हाम्रा घर–बस्ती बगाउन सक्ला, तर एकता, मानवता र आत्मविश्वास बगाउन सक्दैन भन्ने सन्देश हो,’ खड्काले भने।
एउटै एपमा विभिन्न डिजिटल सेवा
नेपाली युवाहरूले निर्माण गरेको डिजिटल सुपर एप फिरिरी साउनदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एपमार्फत राइड सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन–डिमान्ड भिडियो स्ट्रिमिङ (ओटीटी) तथा डिजिटल सिकाइसम्बन्धी सेवा उपलब्ध छन्।
यी विभिन्न सेवाहरूलाई एउटै प्लेटफर्ममा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको जनाएको छ। फिरिरीले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, फ्रिलान्सर, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल माध्यमबाट जोड्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ। यसबाट रोजगारी सिर्जना, सेवाको पहुँच विस्तार तथा नेपालको डिजिटल अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा कम्पनीले गरेको छ।







प्रतिक्रिया