२०८३, ११ भाद्र शुक्रबार

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र


काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि चिनियाँ उद्धार टोलीले जोखिमपूर्ण भूगोलमा खोज तथा उद्धार अभियान तीव्र बनाएको छ।

सिजाङ स्वायत्त क्षेत्र र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रक सम्मिलित ३० सदस्यीय टोली शुक्रबार बिहान कठिन पहाडी बाटो हुँदै पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगेको छ। सीमा नाकाबाट करिब पाँच–छ किलोमिटर दूरीमा रहेको प्रभावित क्षेत्रमा पुग्न टोलीले पाँच घण्टाभन्दा बढी पैदल यात्रा गरिरहेको जनाइएको छ।

उद्धार टोलीले तालिमप्राप्त कुकुरसहित बेल्चा, गैँती तथा जीवित व्यक्ति पत्ता लगाउने उपकरण बोकेर खोजी गरिरहेको छ। दुर्गम तथा जङ्गली भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।

नेपालतर्फबाट सुरु भएको पहिरो बुधबार बिहान चीनको सिजाङस्थित केरुङ काउन्टीको केरुङ नाकासम्म पुगेको थियो। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार घटनामा तीन जनाको मृत्यु भएको तथा ५५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ। स्थानीय दुई गाउँलेको भने उद्धार गरिएको छ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार उद्धार अभियानका लागि पहिलो चरणमा १४१ जना उद्धारकर्मी बिहीबार बिहानै केरुङ पुगेका थिए। खोज तथा उद्धारमा हेलिकप्टर, ड्रोन र भू–उपग्रह प्रविधिसमेत प्रयोग भइरहेको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रभावित क्षेत्रमा ठूला मेसिन तथा उपकरण पुर्‍याउने तयारीसमेत भइरहेको छ। त्यसका लागि अवरुद्ध सडक मर्मतको काम अघि बढाइएको छ। साथै, प्रभावित क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा पुनःस्थापनाको काम पनि चरणबद्ध रूपमा भइरहेको जनाइएको छ।

पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका ४९९ गाउँले तथा निर्माण मजदुरलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ। त्यस्तै, संस्कृति तथा पर्यटन निकायको समन्वयमा ५५५ जना पर्यटकलाई उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ। हाल कुनै पनि पर्यटक प्रभावित क्षेत्रमा अलपत्र नरहेको जनाइएको छ।

नागरिक उड्डयन निकायले पनि उद्धार अभियानमा सहयोग गरिरहेको छ। बिहीबार दिउँसो ३ बजेसम्म हवाई सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो। साथै, २४ टन उद्धार सामग्री, दैनिक उपभोग्य वस्तु तथा चिकित्सा सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

दुर्गम भूगोल, अवरुद्ध सडक र पहिरोको जोखिमबीच चिनियाँ उद्धार टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  ३ : २४ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार