काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ वटा शव फेला परेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ शव फेला परेका छन्।
बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जना उपचाररत छन्।
यसैबीच, बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि पनि प्रयास भइरहेको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताको खोजी र घाइतेको उपचार तथा व्यवस्थापनमा प्राथमिकता दिएको जनाएको छ।







प्रतिक्रिया