दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको खुलेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा महिलासहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनारले आफ्ना ३३ वर्षीय श्रीमान् दीपक सुनार हराएको भन्दै साउन २२ गते प्रहरीमा निवेदन दिएकी थिइन्। दीपक जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएको भन्दै उनले खोजीका लागि प्रहरीसँग आग्रह गरेकी थिइन्।
निवेदनपछि जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय लम्कीचुहा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट संयुक्त रूपमा खोजी तथा अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा अमरावती जंगलमा रगतका दाग फेला परेपछि प्रहरीले नमूना संकलन गरी परीक्षणका लागि पठाएको थियो। परीक्षणबाट उक्त रगत मानिसको भएको पुष्टि भयो। त्यसपछि प्रहरीले जंगल क्षेत्रमा थप खोजी गर्दा दीपकको चप्पलसमेत फेला पारेको थियो।
प्रहरीले यमुनाको गतिविधिमाथि पनि निगरानी बढाएको थियो। अनुसन्धानका क्रममा दीपक हराउनुअघि यमुनाको लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारसँग पटक–पटक सम्पर्क भएको खुलेको प्रहरीले जनाएको छ। दुर्योधन यमुनाका प्रेमी रहेको अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी घटनाको दिन दुर्योधन र कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना थारू, बेलौरी–८ का ३२ वर्षीय मिभ राना थारू तथा कैलालीको टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतोबीच पनि पटक–पटक फोन सम्पर्क भएको प्रहरीको भनाइ छ।
प्रहरीले सुरुमा यमुनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको योजना बाहिर आएको जनाएको छ। प्रहरीका अनुसार यमुनाले प्रेमी दुर्योधनसँग मिलेर श्रीमान् दीपकको हत्या गर्न तीन जनालाई सुपारी दिएको स्वीकार गरेकी छन्।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्योधनले दीपकको हत्या गर्न तीन जनालाई १ लाख ५० हजार रुपैयाँ दिने सहमति गरेको खुलेको छ।
प्रहरीका अनुसार योजनाअनुसार यमुनाले दीपकलाई अमरावती जंगलमा पुर्याएकी थिइन्। त्यहाँ पहिल्यै लुकेर बसेका व्यक्तिहरूले घरेलु हतियार प्रहार गरी दीपकमाथि आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार दीपकको टाउकोमा खुकुरी प्रहार भएपछि यमुना जंगलबाट घरतर्फ फर्किएकी थिइन्। त्यसपछि अन्य चार जनाले दीपकको शव मोटरसाइकलमा राखेर नजिकैको कर्णाली नदीमा फालेको बयान दिएको प्रहरीले जनाएको छ।
तर, हालसम्म दीपकको शव भने फेला परेको छैन। प्रहरीले कर्णाली नदी तथा आसपासका क्षेत्रमा शव खोजी कार्य जारी राखेको जनाएको छ।
कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दीपक यसअघि लागुऔषध प्रयोगसम्बन्धी घटनामा पक्राउ परी कारागार बसेका थिए। उनी कारागारमा रहेको समयमा यमुना र दुर्योधनबीच प्रेम सम्बन्ध स्थापित भएको प्रारम्भिक बयानबाट खुलेको छ।







प्रतिक्रिया