काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका क्षेत्रमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही शाखामा पूर्ण क्षति पुगेको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार टिमुरे बजारमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकका शाखा बाढीबाट प्रभावित भएका छन्। यस्तै, रसुवा–नुवाकोट सीमाक्षेत्रमा रहेका हिमालयन बैंक र एनआईसी एशिया बैंकका शाखा समेत बाढीको चपेटामा परेका छन्। भोटेकोशीको बाढी त्रिशूली बजारसम्म पुगेपछि त्यहाँ रहेका ज्योति विकास बैंक, एनआईसी एशिया बैंक र कृषि विकास बैंकका शाखा पनि प्रभावित भएका छन्।
बाढीको तीव्र बहावले बैंकका कार्यालय, उपकरण तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध वा प्रभावित हुने अवस्था सिर्जना भएको छ।
बाढीका कारण कुन बैंकको शाखामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै यकिन भइसकेको छैन। सम्बन्धित बैंकहरूले आफ्ना शाखा तथा कर्मचारीको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।
प्राकृतिक विपद्का कारण बैंकिङ पूर्वाधारमै ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा नगद कारोबार, एटीएम, डिजिटल बैंकिङ तथा अन्य वित्तीय सेवा सञ्चालनमा समेत चुनौती थपिएको छ।






प्रतिक्रिया