काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको बताएका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको छ।
बाढीको उच्च जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन भइसकेका छन्।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
उनले प्रभावित तथा जोखिममा रहेका सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचनालाई आधार बनाउन आग्रह गरेका छन्।
राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।







प्रतिक्रिया