२०८३, ८ भाद्र मंगलबार

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’


काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यसँग मेल नखाने दाबी गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ। संगठनले सांसद महरसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।

संगठनका अनुसार भदौ ७ गते अपराह्न ४ः४२ बजे महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बससँग सम्बन्धित दुर्घटनामा बझाङको मस्टा घर भई अत्तरिया बस्दै आएकी ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको थियो।

सांसद महरले भदौ ८ गते प्रतिनिधिसभा बैठकमा घटनाबारे बोल्दै बसले महिलालाई ठक्कर दिएपछि अगाडि बढेको र पुनः पछाडि फर्किएर उनलाई किचेको आशयको अभिव्यक्ति दिएको संगठनको भनाइ छ।

तर, इलाका प्रहरी कार्यालय मालाखेतीमा सुरक्षित रहेको सीसीटीभी फुटेज तथा प्रारम्भिक तथ्यले सांसद महरको अभिव्यक्तिसँग मेल नखाने संगठनको दाबी छ। संगठनका अनुसार सीसीटीभी फुटेजमा बस विस्तारै अगाडि बढिरहेको अवस्थामा पानी बिक्री गर्ने महिला यात्रुसँग कारोबार गर्ने क्रममा लडेको र बसको पछाडिको पाङ्ग्रामा परेर उनको मृत्यु भएको देखिन्छ।

संगठनले घटनाको वास्तविकता सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयानलगायत उपलब्ध प्रमाणका आधारमा सार्वजनिक गर्न माग गरेको छ।

‘प्रमाणबिना चालकलाई अपराधी नबनाइयोस्’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संसदजस्तो जिम्मेवार संस्थामा उठाइने विषय तथ्य र प्रमाणमा आधारित हुनुपर्ने जनाएको छ।

“संसदमा उठाइने विषय तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्छ। न्यायको माग गर्नु जनप्रतिनिधिको दायित्व हो, तर प्रमाणबिना निर्दोष चालकलाई अपराधीका रूपमा चित्रित गर्नु स्वीकार्य हुँदैन,” संगठनले जारी गरेको विज्ञप्तिमा भनेको छ।

संगठनले दुर्घटनामा ज्यान गुमाएकी बोहराको परिवारलाई प्रचलित कानुनबमोजिम क्षतिपूर्ति र न्याय सुनिश्चित गर्नुपर्ने तथा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको छ। साथै, अनुसन्धानबाट दोषी नदेखिएको चालकलाई अनावश्यक रूपमा अन्याय र सामाजिक अपमानको सिकार बनाउन नहुने उसको भनाइ छ।

सांसद महरले संसदमा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्नुपर्ने संगठनको अर्को माग छ।

संगठनका अध्यक्ष भीमज्वाला राईले माग सम्बोधन नभए देशभरका यातायात श्रमिक लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

“तथ्यहीन अभिव्यक्तिप्रति क्षमायाचना नगरिए यातायात श्रमिकहरू आफूमाथि भएको अन्याय, अपमान र पूर्वाग्रहका विरुद्ध देशव्यापी रूपमा प्रतिवादमा उत्रन बाध्य हुनेछन्,” राईले भने।

संगठनले दुर्घटनालाई केवल भवितव्यका रूपमा नहेरी सडक सुरक्षा, चालकको कार्यपरिस्थिति र दुर्घटना न्यूनीकरणका विषयमा सरकार, यातायात व्यवसायी, श्रमिक र यात्रु सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको जनाएको छ।

संगठनका तीन माग

१. सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा दुर्घटनाको सत्यतथ्य सार्वजनिक गरियोस्।

२. सांसद ऐन महरले संसदमा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गरियोस्।

३. दुर्घटनामा ज्यान गुमाएकी सिन्की बोहराको परिवारलाई प्रचलित कानुनबमोजिम क्षतिपूर्ति तथा न्याय सुनिश्चित गरियोस् र निर्दोष चालकलाई अन्याय हुन नदिइयोस्।

संगठनले मृतक परिवारले न्याय पाउनुपर्ने विषयमा आफूहरू स्पष्ट रहेको जनाउँदै न्यायको प्रक्रियासँगै अनुसन्धानबाट निर्दोष देखिने यातायात श्रमिकमाथि आरोप, पूर्वाग्रह र सामाजिक अपमान नथोपर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ८ भाद्र मंगलबार  ५ : ०८ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद