काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक अनियमितता भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थाका पूर्वअध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ।
भक्तपुरमा रेडक्रसको गोदामघर निर्माणका लागि जग्गा खरिद गर्दा प्रक्रिया मिचेर बिचौलियालाई प्रयोग गरिएको र खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफलसमेत कागजातमा उल्लेख भएभन्दा कम रहेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ। २०७३ सालमा भक्तपुर नगरपालिका–४ (क) मा ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गर्ने सम्झौता भएको थियो। त्यसका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर अनुसन्धानका क्रममा बोलपत्रको प्रावधानविपरीत बिचौलियामार्फत जग्गा खरिद गरिएको र त्यसक्रममा १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुलेको छ।
त्यसैगरी नापी कार्यालय भक्तपुरबाट गरिएको नापजाँचमा कागजातमा देखाइएको क्षेत्रफलभन्दा कम जग्गा फेला परेको छ। कागजातमा ५ रोपनी १३ आना ३ पैसा उल्लेख भए पनि वास्तविक क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै रहेको सीआईबीले जनाएको छ। सीआईबीले रेडक्रसका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी र पदको दुरुपयोग गरी संस्थालाई आर्थिक क्षति पुर्याएको आरोपमा अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा पूर्वअध्यक्ष सञ्जिव थापासहित राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी छन्। उनीहरूलाई भक्तपुर जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले जग्गा खरिद प्रकरणको अनुसन्धान अघि बढाएको हो।







प्रतिक्रिया