‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ नै हो’
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
शुक्रबार काठमाडौंको सुकेधारामा आयोजित भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे। ‘कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो। एकजुट भएको अवस्थामा कांग्रेसलाई कसैले पनि पराजित गर्न सक्दैन,’ उनले भने।
कोइरालाले शेरबहादुर देउवा नै आफूहरूको नेता र सभापति भएको स्पष्ट पारे। उनले देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए। ‘हाम्रो नेता र सभापति शेरबहादुर देउवाजी नै हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ कोइरालाले भने।
देउवा भेलामा सहभागी भएपछि कार्यक्रम पूर्ण रूपमा सफल भएको उनको दाबी थियो। विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्तालाई पर्याप्त व्यवस्थापन गर्न नसकिएको भन्दै उनले त्यसप्रति क्षमासमेत मागे। कार्यक्रममा कोइरालाले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले देउवाबारे भन्ने गरेको प्रसंग पनि सुनाए।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो,’ उनले भने। देउवा पहिलोपटक बनारस आउँदा बिपीले आफूलाई शेरबहादुरलाई घुमाउन भनेको र आफूले एकै दिन तीनवटा सिनेमा देखाएको शशांकले स्मरण गरे।
उनका अनुसार बिपीले पछि चलचित्रबारे शेरबहादुरलाई प्रश्न गर्दा उनले चलचित्रको निर्देशकदेखि त्यसको सन्देशसम्म हुबहु बताइदिएका थिए। शशांकले गिरिजाप्रसाद कोइरालासँग जोडिएको अर्को पुरानो प्रसंग पनि सुनाए। गिरिजाप्रसादले लन्डनमा रहेका देउवालाई नेपाल फर्काउन आफूलाई आग्रह गरेको र आफूले देउवालाई नेपाल फर्किन आग्रह गरेको उनले बताए।
‘उहाँ आउनुभयो पनि। नेपाल आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो। शेरबहादुरको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो,’ शशांकले भने। शशांकको यो अभिव्यक्तिले कांग्रेसभित्र देउवाको नेतृत्वलाई लिएर आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गरेको छ।







प्रतिक्रिया