२०८३, २४ श्रावण सोमबार

उठ्नेछ फेरि एमाले !

उठ्नेछ फेरि एमाले !


इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ । जनताको पसिनाले लेखिन्छ, संघर्षको आँधीमा लेखिन्छ र परिवर्तनका लागि बगेको रगतले लेखिन्छ । नेपालमा भएका कुनै पनि राजनीतिक परिवर्तन शासकको कृपाबाट प्राप्त भएका होइनन् । जनता लडे, जेल बसे, गोली खाए, यातना सहे र परिवर्तनको झण्डा बोके । त्यही संघर्षको गर्भबाट क्रान्तिकारी चेतना जन्मियो । त्यही संघर्षको एउटा महत्वपूर्ण राजनीतिक शक्ति हो नेकपा एमाले ।

आज नेपाली राजनीति फेरि एउटा निर्णायक मोडमा उभिएको छ । पुराना राजनीतिक मूल्य–मान्यतालाई भत्काउने नाममा सस्ता लोकप्रिय नयाँ नाराहरू बजारमा छन् । सामाजिक सञ्जालको चमकलाई राजनीतिक चेतना ठान्ने प्रवृत्ति बढेको छ । क्षणिक लोकप्रियतालाई वैचारिक शक्ति र भीडलाई संगठन ठान्ने भ्रम फैलिएको छ । जनताको असन्तुष्टिलाई समेट्ने नाममा नेपाली राजनीति व्यक्तिकेन्द्रित हुँदै जाने खतरा पनि उत्तिकै छ । नयाँ अनुहारको चमकभित्र व्यक्तिवाद र अतिरञ्जित लोकप्रियतावाद हावी गराउने प्रवृत्ति खतरनाक बनेको छ ।

तर नेपाललाई मिठो नारा होइन, नेपाल बनाउने स्पष्ट मार्गचित्र चाहिएको छ । नेपाललाई भीडमा रमाउने जमात होइन, जनतासँग जोडिएको अनुशासित र गतिशील संगठन चाहिएको छ । उत्तेजना होइन, विचार चाहिएको छ । व्यक्तिको देवत्वकरण होइन, संस्थागत लोकतन्त्र चाहिएको छ । यहीँनेर नेकपा (एमाले) को ऐतिहासिक जिम्मेवारी र राजनीतिक अभिभावकत्वको प्रश्न अगाडि आउँछ । एमाले कुनै पुरानो पार्टी होइन । विचार कहिल्यै पुरानो हुँदैन । एमाले नेपाली कम्युनिस्ट आन्दोलनका संघर्ष, बलिदान, विचार र संगठनको लामो यात्राबाट निर्माण भएको राजनीतिक तथा वैचारिक शक्ति हो । २०२८ सालको झापा विद्रोहदेखि निरंकुशताविरुद्धका संघर्ष हुँदै २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) ले कम्युनिस्ट आन्दोलनलाई नेपाली समाजको विशिष्ट धरातलसँग जोड्ने वैचारिक आधार निर्माण ग¥यो । परिवर्तन बन्दुकको नालबाट मात्र सम्भव हुन्छ भन्ने मान्यतालाई चुनौती दिँदै जनताको मत, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक प्रक्रियाबाट समाज रूपान्तरणको बाटो देखायो । त्यसैले आज एमालेमाथि गम्भीर प्रश्न छ– एमाले उठ्छ कि उठ्दैन ? एमाले कस्तो रूपमा उठ्छ ? यदि एमाले पुरानै कमजोरी बोकेर उठ्छ भने त्यो उठाइ क्षणिक हुनेछ, बालुवाको महलजस्तै हुनेछ । तर यदि एमाले आत्मसमीक्षासहित उठ्छ, जनताको घाउमा मलम लगाउँदै उठ्छ, भ्रष्टाचार र बेथितिविरुद्ध निर्मम भएर उठ्छ र युवाको निराशालाई आशामा बदल्ने ठोस कार्यक्रमसहित उठ्छ भने एमालेको यो उठाइ केवल राजनीतिक पुनरागमन मात्र हुनेछैन– यो राजनीतिक पुनर्जागरण र संगठनात्मक पुनर्गठनको नयाँ अध्याय हुनेछ ।
आज जनतामा असन्तोष छ । बेरोजगारी छ । महँगी छ । नेपाली उत्पादन कमजोर छ । राज्यप्रतिको विश्वासमा प्रश्न उठेका छन् । राजनीति अवसर र पदको खेलजस्तो देखिँदा नागरिकमा वितृष्णा पैदा भएको छ । ‘नयाँ’को नाममा आफ्ना आसेपासेलाई सत्ताको वरिपरि राख्ने प्रवृत्तिले जनतामा थप आक्रोश र असन्तोष बढाएको छ । यही असन्तोषलाई बुझ्न नसक्ने राजनीतिक शक्ति इतिहासको पानामा सीमित हुने निश्चित छ । तर असन्तोषलाई लोकतान्त्रिक विकल्प, वैचारिक स्पष्टता र परिवर्तनको ठोस कार्यक्रमसँग जोड्न सक्ने शक्ति फेरि जनताको बीचमा स्थापित हुन सक्छ । यो अवस्थालाई संकट मात्र होइन, चुनौती र अवसर दुवैका रूपमा एमालेले लिनसक्नुपर्छ । अब एमालेका लागि ताली होइन, प्रश्न चाहिन्छ । प्रशंसा होइन, आत्मसमीक्षा चाहिन्छ । गुटको गणित होइन, जनताको गणित चाहिन्छ । पदको सुरक्षा होइन, संगठनको पुनर्जागरण चाहिन्छ । राजनीति नेताको सुविधा सुरक्षित गर्ने माध्यम होइन, राजनीति जनताको जीवन बदल्ने साहस, संघर्ष र संकल्प हो । त्यसैले अब एमालेले आफ्नै पार्टीपंक्ति, नेतृत्व र संगठनभित्र पनि निर्मम आत्मसमीक्षा गर्न जरुरी छ । जनताबाट टाढिएको संगठनलाई जनताको घरदैलोमा फर्काउन कार्यकर्तालाई आदेश पालक होइन, विचारका संवाहक बनाउनुपर्छ । युवालाई भाषण सुन्ने भीड होइन, नेतृत्व गर्ने शक्ति प्रदान गर्नुपर्छ । अबको संघर्ष विचार, सूचनाप्रविधि, डिजिटल माध्यम र जनताको विश्वास जित्ने मैदानमा हुनुपर्छ । नयाँ पुस्ता र जेन्जी आन्दोलनसँग जोडिएका विषयमा फैलिने गलत सूचना र भ्रमको जवाफ तथ्यले दिनुपर्छ, विचारले दिनुपर्छ । निराशाको जवाफ आशाले मात्रै होइन, ठोस परिणामले दिनुपर्छ । नयाँ शक्ति आउनु लोकतन्त्रको समस्या होइन । जनताले विकल्प खोज्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । तर नयाँ शक्तिले आफूलाई लोकतान्त्रिक, उत्तरदायी, संस्थागत र जनपक्षीय रूपमा प्रमाणित गर्न नसक्नुचाहिँ राजनीतिक संकटको विषय बन्न सक्छ । त्यसैले एमालेले अरूलाई गाली गरेर होइन, आफ्नो क्षमता प्रमाणित गरेर जनताको मन जित्नुपर्छ ।
जनताले सोधिरहेका छन् –विगतमा एमालेका नेतृत्वले के ग¥यो ?
जवाफ इतिहासका पाना पल्टाएर मात्र पुग्दैन । वर्तमानमा अनुभूत गराउन सक्नुपर्छ । रोजगारी सिर्जना गरेर दिनुपर्छ । उत्पादन बढाएर दिनुपर्छ । भ्रष्टाचार नियन्त्रण गरेर दिनुपर्छ । सुशासन स्थापित गरेर दिनुपर्छ । युवालाई देशमै भविष्य देखाएर दिनुपर्छ । किसानलाई उत्पादनको उचित मूल्य, श्रमिकलाई सम्मान र उद्यमीलाई लगानीको सुरक्षित वातावरण दिएर दिनुपर्छ । यो अभिभारा पुरा गर्नका लागि एमालेको शक्ति कुनै एक व्यक्तिको उदयबाट मात्रै सम्भव हुँदैन । यो विचारको पुनर्जागरण, संगठनको पुनर्निर्माण, जनविश्वासको पुनःस्थापना र नयाँ वैचारिक–संगठनात्मक योजनाको स्पष्ट मार्गबाट मात्र सम्भव हुन्छ । त्यसैले आज आवश्यक छ– एमालेभित्रको अवसरवाद तोड्ने राजनीतिक एजेण्डा, जनतासँग प्रत्यक्ष संवाद र सहकार्य, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने साहस र अठोट, गल्ती स्वीकार्ने राजनीतिक इमानदारी, राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राख्ने स्पष्ट वैचारिक मार्गदर्शन ।
हामीले हेक्का राख्नुपर्छ– इतिहासले धेरै शक्तिलाई जन्माएको छ, धेरैलाई समाप्त पनि गरेको छ । जनतासँग जोडिएका शक्ति टिकेका छन्; जनताबाट विच्छेद भएका शक्ति समयको आँधीमा बगेका छन् । एमालेका अगाडि पनि यही निर्णायक प्रश्न छ जनताको जनप्रिय पार्टी बन्ने कि केवल निर्वाचनमा टिकट बाँड्ने पार्टी ? उत्तर अब भाषणले होइन, व्यवहारले दिनुपर्छ । आज जनताको मनमा एमाले कमजोर देखिएको हुन सक्छ । आलोचनाको घेरामा परेको हुन सक्छ । तर कुनै राजनीतिक शक्तिको वास्तविक सामथ्र्य समयले निर्धारण गर्दैन । संकटको घडीमा उसले आफूलाई कसरी पुनर्गठित गर्छ, त्यसले उसको भविष्य निर्धारण गर्छ । त्यसैले तमाम नेता–कार्यकर्ता निराश हुनुपर्ने कारण छैन । तर आत्ममुग्ध हुने छुट पनि छैन । अब उठ्नुपर्छ– धुलो टक्टक्याएर मात्रै होइन, कमजोरी चिरेर । पुरानो गौरवगाथा सुनाएर मात्रै होइन, नयाँ भविष्य निर्माण गर्ने ठोस कार्यक्रम लिएर, सत्ताको लालसाबाट होइन, जनताको सेवक बन्ने संकल्प लिएर, व्यक्तिको देवत्वकरण र जयजयकार होइन, विचार र विजयको हुँकार लिएर ।

उठ्नेछ फेरि एमाले जनताको विश्वास लिएर, झापा विद्रोहको संघर्षको चेतनाको मशाल बोकेर, जनआन्दोलनको बलिदानको स्मृति बोकेर, जनताको बहुदलीय जनवादको वैचारिक आधार बोकेर, नयाँ पुस्ताको सपना बोकेर र सुखी नेपाली, समृद्ध नेपालको महान् संकल्प बोकेर । नयाँ उद्घोष, संगठन पुनर्निर्माणको संकल्प र जनविश्वास पुनःस्थापनाको अभियान बोकेर उठ्नेछ फेरि एमाले ! उठ्नेछ फेरि एमाले ! उठ्नेछ फेरि एमाले …

लेखक : प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका सचिव हुनुहुन्छ ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ११ : ३५ बजे

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

उठ्नेछ फेरि एमाले !

इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ ।

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा